प्रकोप व्यवस्थापनको पूर्वतयारी थाल्न सरकारलाई सांसद भट्टराईको धानाकर्षण

काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेश भट्टराईले प्राकृतिक प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै सांसद भट्टराईले मनसुनको समयमा बाढी, पहिरो र डुबानका घटना हुने भएकाले यसको व्यवस्थापनको निम्ति पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले गृह मन्त्रालय अन्तर्गत विपद् व्यवस्थापन गर्ने निकायलाई क्रियाशील अवस्थामा राख्न र मौसम पूर्वानुमान गर्ने निकायहरुले पनि मौसम पूर्वानुमान गरी जोखिमपूर्ण बस्तीहरुलाई सुरक्षित स्थानमा सार्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले गत राति ताप्लेजुङ जिल्लामा वर्षाको कारण धनजनको क्षति भएकोले सरकारसँग क्षतिपूर्तिको माग समेत गर्नुभएको थियो ।

‘गएको रातको वर्षाले ताप्लेजुङका विभिन्न ठाउँमा ठूलो मात्रामा अलैची बारीहरुको क्षति भएको छ । अन्य खेती बालीको पनि क्षति भएको छ । पशु, चौपायहरुको क्षति भएको छ । म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु, पीडितहरुको आवश्यक राहत र उद्धारको निम्ति म ध्यानाकर्षण गराउन चाहान्छु ।

साथै मृत्यु भएका व्यक्तिहरुको क्षतिपूर्तिको निम्ति, उनीहरुको काजक्रियाको निम्ति आवश्यक सहयोग गर्नको निम्ति पनि भन्न चाहान्छु । शीघ्र उपचारको व्यवस्थाको निम्ति भन्न चाहान्छु,’सांसद भट्टराईले भन्नुभयो । यस्तै मौसम पूर्वानुमान गर्ने एजेन्सीहरुबाट जोखिमपूर्ण बस्तीहरुलाई पूर्वअनुमान गरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्नेतर्फ सरकारको गम्भीर ध्यान जानुपर्नेमा उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार