नवनिर्वाचित जिसस प्रमुख थापा र उपप्रमुख खत्रीद्वारा शपथ तथा पदभार ग्रहण (फोटो फिचर)

म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्वाचित प्रमुख राजकुमार थापाले पदभार ग्रहण गर्नुभएको छ ।सोमवार मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरे लगत्तै थापाले कार्यकक्षमा गई पदभार ग्रहण गर्नुभएको हो ।

निवर्तमान प्रमुख देवेन्द्र बहादुर कटुवाल र समन्वय अधिकारी जानुका सुवेदीले थापालाई पदभार ग्रहण गराउनुभएको हो । त्यस्तै उपप्रमुख दिल कुमारी खत्रीले पनि पदभार ग्रहण गर्नुभएको छ ।

थापाले आजै उपप्रमुख सहित समन्वय समितिका सवै सदस्यहरुलाई पद तथा गोपनियताको शपथ खुवाउनुभएको छ । पदभार ग्रहण गर्दै समन्वय प्रमुख थापाले कानूनले निदिष्ट गरेको काम, कर्तव्य र अधिकारको सिमा भित्र रहेर जिल्लाका सवैपक्ष संग सहकार्य गरि अगाडि बढ्ने बताउनुभयो ।

उहाँले जिल्लाको विकास र समृद्धिका लागि प्रदेश तथा संघ सरकार संग समन्वय गरि आवश्यक योजना संचालन गर्न आफु निरन्तर लागि पर्ने प्रतिवद्धता जनाउनुभयो ।पार्टीको कार्यकर्ता नभई जिल्लाकै प्रमुखको हैसियतमा रहेर जिल्लाको हितका लागि अग्रसर रहने उहाँको भनाई थियो । साथै उहाँले रचनात्मक सल्लाह, सुझाव तथा सहयोगका लागि समाजका सवै पक्षसंग अपिल समेत गर्नुभएको छ ।

उपप्रमुख खत्रीले जिल्लामा संचालित योजनाहरुको निरन्तर अनुगमन, सरकारी कार्यालयको सेवा प्रवाहको अनुगमन तथा जनमैत्री कार्यका लागि आफु सदैव तयार रहने बताउनुभयो ।

एकता र सहकार्यले जिल्लाको मुहार फेर्न सकिने भन्दै उहाँले पार्टीले विश्वास गरेर दिएको जिम्मेवारीलाई जनताको पक्षमा समर्पित गर्ने बताउनुभएको छ । सोही अवसरमा नयाँ समितिलाई स्वागत र पुरानो समितिलाई विदाई समेत गरिएको छ ।स्वागत तथा विदाई कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य नरदेवि पुनले जिम्मेवारीलाई कुशलताका साथ निभाउन नवनिर्वाचित समन्वय प्रमुख, उपप्रमुख लगायत सवै सदस्यहरुलाई अनुरोध गर्नुभएको छ ।

 


उहाँले जिल्लामा संचालनमा रहेका योजनाहरुलाई समयमै सम्पन्न गर्नेगरि अनुगमन र निगरानीलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभएको छ ।कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधिश तेज नारायण पौडेल, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्मा, नेकपा माओवादीका बेनी नगर कमिटी उपाध्यक्ष अम्विका ढुङ्गाना लगायतले बधाई तथा शुभकामना प्रकट गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार