कम्युनिष्ट पार्टीहरुसँग एकता र सहकार्य हुनसक्छ : विप्लव

जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेपालको राजनीतिक आवश्यकताका आधारमा कम्युनिष्ट पार्टीहरुसँग एकता र सहकार्य हुन सक्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव विप्लवले पश्चगामी नभई क्रान्तिकारी सोचको आधारमा कम्युनिष्ट पार्टीबीच एकता र सहकार्य हुन सक्ने बताउनुभएको हो । पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, ‘एकदिन कम्युनिष्ट एक हुनुपर्छ र समाजवादको यात्रामा लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्नुपर्ने हुनसक्छ ।’ विप्लवले विश्वमा पनि कम्युनिष्ट कम नभएको तर आपसमा नमिलेर कम देखिएको बताउनुभयो ।

नेता चन्दले राष्ट्रिय परिस्थितिबारे बोल्दै अहिले राष्ट्रिय स्वाधिनता जोखिममा रहेको बताउनुभयो । राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सबै देशभक्त नेपालीलाई एक हुन उहाँले अपिल समेत गर्नुभयो ।अमेरिकाको एमसीसी, एसपीपी जस्ता विषय नेपालको हितमा नभएको चन्दले बताउनुभयो । अमेरिकाले सैन्य ढंगबाट अतिक्रमण गर्ने प्रयास गरेको बताउँदै उहाँले भन्नुभयो, ‘यो नेपाल र नेपालीका लागि राम्रो होइन ।’उहाँले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन आगामी असोजमा हुने जानकारी समेत दिनुभयो ।

सो पार्टीका जुम्ला जिल्ला सेक्रेटरी विर्षबहादुर शाहीका अनुसार असार ५ गते बेलुकी जुम्लामा आइपुगेका चन्दले जुम्ला कारागारमा रहेका कैदीबन्दी र जुम्लाका राजनैतिक दलका नेताहरुसँग भेटघाट गरेका थिए । चन्द सहित सचिवालय सदस्य सन्तोष बुढामगर, केन्द्रीय नेता भरतबहादुर बम लगायतका नेताहरु अहिले जुम्लामा छन् । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार