वर्तमान सरकार आफ्नै कारणले ढल्छ : बस्नेत

काठमाडौँ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकार र गठबन्धन आफ्नै कारणले ढल्ने दाबी गर्नुभएको छ । बस्नेतले अहिले आफूहरु सरकार परिवर्तन गर्ने र पाँच दलीय गठबन्धन भत्काउने खेलमा नलागेको स्पष्ट पार्नुभयो ।

मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकारको एक वर्ष पुग्न लागेको उल्लेख गर्दैै यो एक वर्षमा सरकारले कुनै राम्रो काम गर्न नसकेको पनि दाबी गर्नुभयो । उहाँले बजेटको अघिल्लो दिन विषय विज्ञका नाममा ठूलो घरनाका मान्छे मन्त्रालय छिरेर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले गम्भीर अपराध गरेको आरोप लगाउनुभयो।

एमालेले अर्थमन्त्रीको राजीनामा मागेर सदनमा सशक्त आवाज उठाएको स्मरण गराउँदै उहाँले मूल्यवृद्धिको विरोधमा आफ्नो पार्टीनिकट विद्यार्थी संगठन आन्दोलनमा उत्रिएको सुनाउनभयो । तर, विद्यार्थी आन्दोलनमा सरकार दमनमा उत्रिएको उहाँको आरोप छ । सत्तारूढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता रामहरि खतिवडाले वर्तमान सरकार संघीय संसद्को निर्वाचनको तयारीमा जुटिसकेको बताउनुभयो ।

खतिवडाले मुलुकमा विषम परिस्थिति आइपर्दा जहिल्यैपनि काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेर समाधान गरेको स्मरण गराउनुभयो । यसअघि नेकपाको सरकार हुँदा जनताले दिएको मतअनुसार कांग्रेस पाँच वर्षको लागि नै प्रतिपक्षी भूमिका रहेर काम गर्न तयार थियो भन्ने धारणा राख्नुभयो । तर, नेकपाको सरकार आफ्नै कारणले ढलेको र पार्टी पनि विभाजन भएको अवस्थामा आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाले बाध्यताले सरकारको नेतृत्व लिनुपरेको पनि उहाँले स्मरण गराउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार