आज फेरि क्यान र वायु सेवा सञ्चालकहरु वार्तामा बस्दै

काठमाडौँ । असन्तुष्ट वायु सेवा सञ्चालक संघ (आओन) र नेपाल नागरिक उड्यान प्राधिकरण (क्यान) बीच फेरि आज वार्ता हुने भएको छ । सो बारे रातोपाटीसँग कुरा दिँदै आओनका प्रवक्ता योगराज कँडेलले यसअघिको आन्दोलनका कार्यक्रम फिर्ता लिइएको र हवाई उडानसँगै क्यानसँगको वार्ता समेत जारी राख्ने सहमति भएको जानकारी दिनुभयो । ‘हामी ब्याक भएका होइनौं, सहमतिको पर्खाइमा हौं ।

सहमति जुट्न नसके पुनः आन्दोलनमा जान्छौं’ प्रवक्ता कँडेलले भन्नुभयो, ‘तर अहिलेलाई निर्वाध हवाई सेवा जारी राख्ने र वार्तालाई पनि जारी राख्ने सहमति क्यानसँग भएको छ ।’उसो त असार ५ गते एक सूचना जारी गर्दै क्यानले असार ७ गतेदेखि नै उपत्यका बाहिरका गन्तव्यमा जाने हवाई जहाज तथा हेलिकप्टरले सोही स्थानमा पार्किङ गर्नुपर्ने र भोलिपल्ट सोही स्थानबाट पहिलो उडान भर्नुपर्ने निर्णय गरेको थियो । क्यानको यस निर्णय विरुद्ध क्रुद्ध हवाई सेवा कम्पनीहरुले लगत्तै मंगलबार पत्रकार सम्मेलन गर्दै असार ८ गतेदेखि नै पूर्ण रुपमा हवाई सेवा अवरुद्ध पार्ने चेतावनी दिएका थिए ।

पार्किङको सवालसँगै अन्य शुल्कहरूमा समेत भारी वृद्धि गरिएको भन्दै सो सबै निर्णय फिर्ता लिन वायु सेवा सञ्चालकहरूले क्यानलाई २४ घण्टे अल्टिमेटम दिएका थिए । तर, हवाई कम्पनीहरुको यस्तो चेतावनी सार्वजनिक भएको २ घण्टा पनि नबित्दै यता क्यानले पुनः पत्रकार सम्मेलन गर्दै निर्देशन नमान्ने र आन्दोलनमा जाने हवाई कम्पनीहरुको दर्ता नै खारेज गर्ने सम्मको चेतावनी दियो । यसले आन्दोलित हवाई कम्पनीहरु खुम्चिन पुगे ।

सहमतिको नाममा राति ११ बजे पुनः क्यान र वायु सेवा संघबीच वार्ता भयो । सो वार्तामार्फत सहमतिका लागि हवाई उडान र वार्ता दुबै जारी राख्ने सहमति भएको प्रवक्ता कँडेलले बताउनुभयो । सोही निर्णय बमोजिम बुधबार दिउँसो १२ बजे पुनः बैठक बस्न लागिएको उहाँले बताउनुभयो । असन्तुष्ट हवाई कम्पनीहरुको पार्किङ सुविधासँगै बढाइएको यात्रु सेवा शुल्क, ल्याण्डिङ शुल्क, पार्किङ शुल्क, नेभिगेशन लगायतका सम्पूर्ण वृद्धि गरिएका शुल्कहरू फिर्ता हुनुपर्ने माग छ । आन्दोलित वायु सेवा सञ्चालक संघले क्यान समक्ष ५ बुँदे मागपत्र राखेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार