लमजुङ । ६२ वर्षीया पुतली परियार र बुबा ७५ वर्षीय सुकबरे परियालाई जेठको पहिलो साता जिल्ला प्रहरी कार्यालयबाट आएको खबरले एकैछिन पनि मन शान्त हुन दिएन । २७ वर्षअघि जागिर खान भारत पसेको माइलो छोरा किसान फर्केर नआएपछि उनीहरू यादै यादमा दिन बिताइरहेका थिए । वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेका दुई छोराभन्दा पुतली र सुकबरेलाई माइलोको चिन्ता थियो ।
आर्थिक अवस्थाले पिरोलेपछि राइनास–८ तार्कुघाटका किसान परियार १६ वर्षको उमेरमा गाउँकै टीकाराम श्रेष्ठसँग भारत पसेका थिए । टीकारामले उनलाई एउटा घरमा काम लगाइदिए । तर किसान भने केही दिनपछि उक्त घरबाट निस्केर अन्तै हिँडेछन् । नेपाल फर्किने बेला टीकारामले किसानलाई नभेटेपछि एक्लै घर फर्किए । त्यसपछि किसान न कहिल्यै टीकारामको सम्पर्कमा आए न त परिवार र इष्टमित्रको ।
जेठ पहिलो साता भारतीय नम्बरबाट लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई फोन आयो । फोनकल थियो– भारतको उत्तर प्रदेश वासपत जिल्ला मेहरमपुर क्षेत्रको कलेजका प्राध्यापक सरदार सिंहको । उनले इन्टरनेटमा सर्च गरेर प्रजिअको नम्बर पाएको बताउँदै आफूसँग लमजुङको तार्कुघाट घर बताउने एक जना अधबैंसे सम्पर्कमा रहेको जानकारी दिए । प्रजिअले प्रोफेसरलाई डीएसपी कृष्णबहादुर कार्कीसँग सम्पर्क गराइदिए । डीएसपी कार्कीले उक्त सूचना पुष्टि गर्न तार्कुघाटमा मान्छे खटाए । सूचना सही थियो । त्यसपछि कार्कीले उनको उद्धार गर्न प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन तथा अनुसन्धान ब्युरो, नेपाली राजदूतावास नयाँदिल्ली र भारतीय प्रहरीसँग समन्वय गरे ।
जेठको दोस्रो साता उद्धारका लागि किसानकी आमा पुतली किसानलाई भारत लाने टीकाराम, बहिनीज्वाइँ नाता पर्ने पर्वतमा कार्यरत प्रहरी कृष्णगोपाल परियारलगायत भारत हिँडे । भारतीय प्रहरीसहित उनीहरूले फोन गर्ने ती प्राध्यापकलाई भेटे । उनले भनेअनुसार किसानलाई भेट्टाए । किसान करिब ८/९ सय वटा गाईभैंसी पाल्ने गोठमा भेटिए । १५ वर्षमा घर छाडेको छोरो ४३ वर्षको उमेरमा भेट्दा सुरुमा त पुतली पनि छक्कै परिन् । किसानले अकस्मात्को भेटमा आफूलाई भेट्न आएका कसैलाई ठम्याएनन् । तर हिन्दीमा बोलेपछि उनले टीकारामलाई भने चिने ।
टीकारामका अनुसार किसानले नेपाली बोल्न पनि बिर्सिसकेको बताए । डीएसपी कार्की भन्छन्, ‘हातखुट्टा पूरै फुटेको रहेछ । झुत्रो लुगा लगाएको र कामले थकित अवस्थामा भेटिए ।’ उनका अनुसार किसान त्यही गोठमा १५ वर्षभन्दा लामो समययता काम गरिरहेका रहेछन् । तर उनलाई खान लाउनको राम्रो व्यवस्थासमेत नगरिएको देखियो । उनले भने, ‘गाईभैंसीको गोबर सोहर्ने, गोठमै बस्ने । त्यहींका मान्छेको स्याहारसुसार गर्ने काममा राखेका रहेछन् ।’ उद्धारमा संग्लन परिवारका सदस्यका अनुसार किसानलाई बन्धकजस्तै बनाएर गोठमा काम लगाइएको रहेछ । बाहिर जान नदिने र अरुसँग बोल्न पनि नदिने भएकाले किसान एकोहोरिएका रहेछन् ।
आमा पुतलीका अनुसार छोराले बोलेको बुझिँदैन । विस्तारै नेपाली बोल्न थालेको छ । ‘पहिले आमा चिन्दिनँ, आमा थाहा छैन भन्ने मान्छेले अहिले आमा भनेर राम्रोसँग बोलाउँछ । अरू खासै बोल्दैन । कहिलेकाहीं एकोहोरो टोलाइरहन्छ,’ उनले भनिन् । भारतबाट उद्धार गरेर ल्याएपछि स्वास्थ्य परीक्षण गर्दा खासै समस्या देखिएन ।मेरो छोरा कहाँ छ होला भनेर धेरै कुरा मनमा खेल्यो । एक दिन कसो बाबाआमा र घर नसम्झिएला भनेर बसें,’ आमा पुतलीले भनिन्, ‘मैले पाएको छोरा भगवान्ले जुराइदियो ।’ ekantipurबाट