स्व. रानाको वार्षिक पुण्यतिथिमा पोखरा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

पोखरा ।समाजसेवी स्व. रामकृष्ण रानाको वार्षिक पुण्य तिथिमा उहाँका परिवारले पोखरा वृद्धाश्रममा खाद्यान्नसहित दैनिक उपभोग्य सामान सहयोग गरेका छन् । स्व. रानाको प्रथम वार्षिक पुण्य तिथिमा बिहीबार पोखरा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकका लागि खाद्यान्न सहयोग गरिएको हो । पोखरा–१७, सीतापाइलास्थित पोखरा वृद्धाश्रममा पुुगी स्व. रानाकी श्रीमती पूर्णकुमारी राना, छोरी देउकुमारी थापा, छोराहरू डम्मरबहादुर राना, तुलबहादुर राना, देवबहादुर राना, नातिनी मेनुका थापाले खाद्यान्न र फलफूल सहयोग गर्नुभएको हो ।

सो अवसरमा पोखरा वृद्धाश्रमका सञ्चालक कुुसुमकेशव पराजुलीलाई स्व. रानाको परिवारले खाद्यान्न, फलफूल तथा अन्य दैनिक उपभोग्य सामान हस्तान्तरण गरेको हो । वृद्धाश्रममा रहेका ४८ जना ज्येष्ठ नागरिकका लागि चामल, दाल, नुन, तेल, चिनी, अण्डा, जुस, बिस्कुट, चिउरा, मस्यौरालगायतका खाद्यान्न एवं आँपलगायतका फलफूल स्व. रानाको परिवारले वृद्धाश्रममा सहयोग गरेका छन् । जसमा सेनिटाइजर, मास्कलगायतका स्वास्थ्य सामग्री समेत रहेका छन् ।

वृद्धाश्रमको तर्फबाट सहयोग ग्रहण गर्दै सञ्चालक कुुसुुमकेशव पराजुलीले मनकारी व्यक्तिहरूको सहयोगले नै वृद्धाश्रम व्यवस्थापनमा सहज भएको बताउनुुभयो । सन्तान भएर पनि वृद्ध बाबुआमाले बेसहारा बन्नुपर्ने अवस्था दुःखद् भएको भन्दै उहाँले वृद्धाश्रमले ज्येष्ठ नागरिकका लागि व्यवस्थित रुपमा जीवनयापनको वातावरण निर्माण गरेको उल्लेख गर्नुभयो ।

सहयोग हस्तान्तरण गर्दै स्व. रानाकी छोरी देउकुमारी थापाले आफ्नो बुबाको प्रथम वार्षिक पुण्यतिथिमा आफ्नै बुुबा आमा सम्झेर सहयोग गरेको बताउनुुभयो । वृद्धाश्रममा सहयोग गर्न पाउँदा आफ्नो बुुबाको आत्माले शान्ति पाउने विश्वास समेत व्यक्त गर्नुभयो । माछापुच्छ्रे गाउँपालिका–३, घलेखर्क, कास्कीनिवासी समाजसेवी स्व. रामकृष्ण रानाको ९१ वर्षको उमेरमा गत वर्ष असार १६ गते निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार