मालिका गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम (तस्बिरहरु)

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको आयोजना र मिलन म्याग्दीको व्यवस्थापनमा सोमबार दरबाङमा कानुनी सचेतना कार्यक्रमसम्बन्धी तालिम सम्पन्न भएको छ । न्यायिक समिति तथा वडा समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो ।

उक्त तालिमले न्यायिक समितिलाई सहजता समेत प्रदान गर्ने उद्देश्य रहेको जनाइएको छ । तालिमको सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता धर्मराज पौडेल, जिल्ला अदालत म्याग्दीका श्रेष्तेदार तेजप्रसाद पौडेल, मालिका गाउँपालिकाका निवर्तमान उपाध्यक्ष खरमाया बिटालु र प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले सहजीकरण गर्नुभएको थियो ।

तालिममा नेपालमा तहगत सरकारको व्यवस्था, स्थानीय तहको न्यायिक अधिकारको पृष्ठभूमी एवं औचित्य, न्यायिक समितिको जिम्मेवार र हेनुपर्ने विवाद, उजुरी दर्ता, दरपीठ, म्याद तामेली, तारेख तथा प्रतिवादीसम्बन्धी व्यवस्था र मेलमिलापको माध्यमद्वारा विवादको समाधानलगायत विषयहरुमा सहजीकरण गरिएको थियो । तालिमको समापन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले पालिकामार्फत आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमको निरन्तरता दिइने र समुदायस्तरमा हुने समस्यालाई व्यवस्थापन गरिने बताउनुभयो ।

मालिका गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक लक्ष्मीदेवी घर्तीमगर पुनको अध्यक्षता र मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न कार्यक्रममा न्यायिक समिति तथा वडाका जनप्रतिनिधि, कर्मचारी र सुआहारा कार्यक्रमका फिल्ड संयोजक बालकुमारी पुनको उपस्थिति रहेको थियो । यसअघि पनि गाउँपालिकाको आयोजनामा कर्मचारीलाई लक्षित गरेर सेवा प्रवाहसम्बन्धी तालिम सम्पन्न भैसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार