एमाले म्याग्दीको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम,नेकपा एसको हरिबिजोगः सचिव अर्याल

स्थानीय तहको निर्वाचनमा एमाले लोकप्रिय मतसहित पहिलो

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । नेकपा एमालेका केन्द्रीय कमिटी सचिव एवं पूर्व मन्त्री पद्यमा अर्यालले गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले लोकप्रिय मत पाएको बताउनुभएको छ । एमाले जिल्ला कमिटी म्याग्दीले आज (बिहीबार) सदरमुकाम बेनीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सचिव अर्यालले स्थानीय तहको निर्वाचनमा सिटका हिसाबले एमाले देशैभरी दोस्रो भए पनि लोकप्रिय मत पाएको बताउँदै माधव नेपाल नेतृत्वको पार्टी नेकपा एसको हरिबिजोग भएको टिप्पणी गर्नुभयो । उहाँले गएको निर्वाचनमा नेपाली कांग्रेसले ४०, एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४ र नेकपा एसले जम्मा २ प्रतिशत मत पाएको बताउनुभएको थियो । अहिलेको शक्ति सन्तुलनमा पनि नेकपा एमाले लोकप्रिय मतसहित पहिलो पार्टी भएको उहाँको भनाइ छ ।

एमाले गण्डकी प्रदेश इन्चार्ज समेत रहनुभएकी सचिव अर्यालले एमालेबाट फुटेर बनेको नेकपा एस पार्टीको संसदमा रहेका सांसदहरुको जति सिट सङ्ख्या पनि स्थानीय तहको निर्वाचनमा नआएको बताउनुभयो । उहाँले नेपालमा लामो समयसम्म नेपाली कांग्रेसले देशको नेतृत्व गरेको भए पनि अहिलेसम्म एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाउँदै कांग्रेसका एक दुईजना मान्छे मात्रै पाँच÷छ पटकसम्म प्रधानमन्त्री बनेर अरुलाई पालो नदिएको बताउनुभएको थियो । अहिलेको वर्तमान अवस्थामा पनि विचार, सङ्गठन, देश बनाउने भिजन र देशलाई बदल्न सक्ने क्षमता नेकपा एमालेसँग मात्रै रहेको उहाँले दावी गर्नुभयो ।

सोही कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले निर्वाचन हार्ने छुट नेकपा एमालेलाई नभएको बताउनुभयो । उहाँले एमालेले निर्वाचन जितेमा देश र जनताको विजयी हासिल हुने बताउँदै सोहीअनुसार आसन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा केन्द्रीत भएर लाग्न नेता तथा कार्यकर्तालाई सुझाव दिनुभयो । देशको विकास र परिवर्तन गर्ने सामथ्र्य एमालेसँग मात्रै भएको भन्दै उहाँले अहिलेको सत्ता गठबन्धन कसरी हुन्छ देशको स्रोत, साधनमाथि हमला गरी त्यसलाई बाँडीचुँडी खाएर सक्ने कार्यतर्फ उद्दत रहेको आरोप समेत लगाउनुभयो ।

कार्यक्रममा प्रशिक्षण दिँदै एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव रश्मी आचार्यले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु सामाजिक जागरण ल्याउन सक्ने खालका हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सुशासनका हिसाबले पारदर्शी र पालिकामा सदाचार स्थापित हुने गरी स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले काम गर्नुपर्ने भन्दै परनिर्भर हुने कार्य बन्द गर्न नसके समाजवाद निर्माण गर्ने आधारको परिकल्पना गर्न नसकिने बताउनुभयो । उहाँले समान अवसर, समानता र सामाजिक न्यायसहितको सुरक्षा प्रणाली स्थापना गर्नसके मात्र समाजवादका आधारहरु तय गर्न सकिने बताउँदै सोहीअनुसार स्थानीय तहले काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले स्थानीय तहको निर्वाचनको सन्देश र आगामी निर्वाचनको तयारीको बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र सचिव सुरत केसी तथा उपसचिव थमसरा पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार