मंगला गाउँपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन पाएनन्

  म्याग्दी न्युज संवाददाता

बेनी। म्याग्दीको मंगला गाउँपालिकामा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुन पाउनुभएको छैन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका प्रमुख प्रशासकीय अधिकृत  कार्कीलाई गाउँपालिकाले फिर्ता पठाएकाे छ ।       गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाइएको भनेर मन्त्रालयलाई पत्र समेत पठाइसकेको छ ।

मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाउँदा गाउँपालिका संग समन्वय नगरेकोले फिर्ता पठाइएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरको भनाई छ । काम गर्नलाई सहज र सहयोग गर्ने प्रशासकीय अधिकृत चाहिने अध्यक्ष रोकाले बताउनुभयो । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारका प्रतिनिधिको भूमिकामा हुन्छन् ।

मन्त्रालयबाट सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौर स्थित कार्यालयमा पुग्नुभएको थियो । ‘यही साउन ५ गतेको निर्णय अनुसार मंगला गाउँपालिकामा सरुवा भएको रमना पत्र लिएर हाजिर हुन गएको थिएँ,’उहाँले भन्नुभयो ,‘मन्त्रालयले गाउँपालिकासंग समन्वय नगरी सरुवा गरेर पठाएकोले हाजि गराउन नसक्ने पत्र दिएर पठाउनुभयो ।’

पालिकाले हाजिर नगराएपछि बागलुङ फर्कनुभएका कार्कीले मन्त्रालयमा जानकारी गराउने बताउनुभयो । मंगलाका प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाको हालै मात्र अन्यत्र सरुवा भएको थियो । ढुङ्गानाको सरुवा भएपछि गाउँपालिकाले सूचना अधिकारी राजेन्द्र आचार्यलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।  कार्की यस अघि बागलुङको काठेखोला गाउँपालिकामा प्रमुख  प्रशासकीय अधिकृत हुनुहुन्थ्याे । कार्कीलाई मन्त्रालयले मंगलामा सरुवा गरेर पठाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार