गीतकार रोकाको ‘तिमीलाई नदेख्दा’ सार्वजनिक

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँ तुसारेपानी निवासी मुक्ति रोकाले वैवाहिक जीवनको रजत महोत्सवमा जीवनसाथी टिकामाया रोकालाई एउटा मिठो गीत अपर्ण गर्नुभएको छ। गायक धर्मेन्द्र शेवानको स्वर र संगीतमामा सजिएको रोका मगरको ‘तिमीलाई नदेख्दा’ बोलको गीत म्युजिक भिडिओ सहित विहिबार सार्वजनिक गरिएकाे छ ।

भिडिओ हेर्नुहोस् 

वैवाहिक जीवनको रजत महोत्सवमा जीवनसाथी टिकामाया रोकालाई अर्पण गर्दै सार्वजनिक गीतको म्युजिक भिडिओले संगीतप्रेमीहरुबाट राम्रो प्रशंसा पाएको छ ।  म्युजिक भिडिओ पनि सुन्दर छ । ‘कोभिड–१९ का कारण नेपालबाट अष्ट्रेलिया फर्कंदा १५ दिन क्वारेन्टाइनमा बस्नु पर्‍यो। त्यो क्षणमा परिवारको सम्झना आइरह्यो’, उनले गीत लेखनको सन्दर्भ सुनाउनुभयो , ‘क्वारेन्टाइनको छटपटिले मनलाई सताइरहेको थियो। अनि एकाबिहानै मैले यो गीत लेखेको हुँ।’

छेवाङ लामाको निर्देशनमा बनेको भिडिओमा आकाश श्रेष्ठ र एलिसा राईको अभिनय रहेको छ । गीतकार रोका २२ वर्षदेखि अष्ट्रेलियामा बस्दै आउनुभएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिका निवर्तमान कोषाध्यक्ष , अष्ट्रेलियाका पुर्व अध्यक्ष समेत  रहनुभएका रोकाले जन्मथलोको शैक्षिक र सामाजिक विकासमा निरन्तर सहयोग पुर्‍याउँदै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार