सुआहारा कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी

बेनीमा पोषण तथा स्वास्थ्य अवस्था सुधार्न विभिन्न आठबुँदे प्रतिबद्धता जारी

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीकाे बेनी नगरपालिकाकाे  आयोजनामा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक तथा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । आज (सोमबार) बेनीमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सिकाई एवं अनुभव आदानप्रदानसँगै गोष्ठी आयोजना गरिएको हो ।

नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी र सम्बन्धित कार्यक्रमका प्रतिनिधिहरु सहभागी गोष्ठीको अवसरमा नगर क्षेत्रको पोषण अवस्था सुधार गर्नका लागि खाद्य, सुरक्षा, पोषण तथा सरसफाइसम्बन्धी विभिन्न आठबुँदे प्रतिबद्धतासहित निर्णयहरु गरिएको छ । नगरपालिकामा पछिल्लोपटक स्वास्थ्य र पोषणका सूचकहरुमा उल्लेख्य सुधार हुँदै आएको तथ्याङ्कमा देखिए पनि अझै संस्थागत सुत्केरी, प्रोटोकलअनुसार गर्भजाँच र दुई वर्षमुनिका बालबालिकाको वृद्धि अनुगमनका सूचकहरुमा सुधार ल्याउन थप प्रयासको आवश्यकता औंल्याइएको छ ।

त्यसैले आगामी दिनमा बहुक्षेत्रीय पोषणको क्षेत्रमा कार्य गर्दै आएको यु.एस.ए.आई.डी.को आर्थिक सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमलगायत अन्य संघसंस्थाहरुसँग समन्वय र सहकार्य गर्दै चालु आवदेखि सुरु गरी आगामी पाँच वर्षभित्र सबै वडालाई पूर्ण पोषणमैत्री, बालमैत्री, सरसफाइउन्मुख वडा एवं पालिका घोषणा गर्ने अभियानलाई तीव्रता दिने सर्वसम्मत निर्णय गरिएको छ । यसैगरी मिलन म्याग्दी, सुआहारा कार्यक्रमले क्षमता विकास गरेर नगरपालिकामा दर्ता गरी स्थापित गरेका ग्रामीण नमुना कृषक, स्थानीय स्रोतव्यक्ति, जेसी च्याम्पियनलाई पालिकाको जनशक्ति एवं स्वयंसेवकका रुपमा परिचालन गरिने जनाइएको छ ।

कृषि, पशु सेवाको क्षेत्रमा पालिकालाई आत्मनिर्भर बनाउने अभियानमा ग्रामीण कृषकमार्फत सहयोग लिने साथै लैंिगक हिंसा न्युनीकरण र स्वास्थ्य आमा समूह नियमित सञ्चालन, स्थानीय हजार दिनका महिला तथा बालबालिकाहरुको पोषण, स्वास्थ्य र सरसफाइको क्षेत्रमा जागरण अभियानमा निरन्तरता गराउने निर्णय गरिएको बेनी नगरपालिकाले जनाएको छ । त्यस्तै नगरपालिका र वडास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक चौमासिक रुपमा बसी प्रगति समीक्षा गर्दै बहुक्षेत्रीय पोषण योजनाले अघि सारेका उद्देश्य एवं दीगो विकास लक्ष्य हासिल गर्न प्रयत्नशील रहने सर्वसम्मत निर्णय पनि गरिएको छ । बेनी नगरपालिकाको बहृक्षेत्रीय पोषण योजनासँग सम्बन्धित शाखागत योजना र कार्यक्रमहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न यस क्षेत्रमा कार्यरत स्थानीय साझेदार संस्थाहरुलाई समेत परिचालन गर्न आवश्यक नीति र कार्यविधि बनाइने जनाइएको छ ।

वैठकमा पोषण विशेष र पोषण संवेदनशील क्षेत्रका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर कमजोर सूचक भएमा टोल, वस्ती क्षेत्रमा सुधार गर्न विशेष पहल गर्ने, नगरपालिकामा बहुक्षेत्रीय पोषण योजनाको सही कार्यान्वयनबाट वडा र पालिकाको समग्र विकास हुन्छ भन्ने कुराको सिकाइको लागि नमूनाको रुपमा तयार गर्नेगरी आगामी दिनमा राष्टिय योजना आयोग र विभिन्न दाताहरुसँग पनि आवश्यक बजेट र कार्यक्रमका लागि पहल एवं व्यवस्था गर्दै जाने निर्णय गरिएको छ । बहुक्षेत्रीय पोषण योजनालाई सघाउन सञ्चालित सुआहारा कार्यक्रमलाई नियमितता दिनको लागि स्थानीय तहबाट गर्ने समन्वय र सहयोगका साथै सुआहारा केन्द्रीय कार्यालयमा समेत समन्वय गरी स्थानीय तहमा यो कार्यक्रममा रिक्तता आउन नदिन पहल गरिने भएको छ ।

सुनौलो हजार दिनको महिला शर्मिला परियारलाई पोषणयुक्त खानेकुरा हस्तान्तरण गरी गोष्ठीको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पोषण तथा स्वास्थ्यको अवस्था सुधार्न आवश्यक पहल गरिने बताउनुुभयो । उहाँले मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमले समुदायस्तरमा महिला तथा बालबालिकाको पोषण अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पु¥याएको बताउँदै नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम बनाउँदा र संशोधन गर्दा पोषण एवं स्वास्थ्य अवस्थालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले समुदायस्तरमा पोषणको अवस्थामा सुधार ल्याउन सुआहारा कार्यक्रमको अतुलनीय भूमिका रहेको बताउनुभयो । उहाँले अझै पनि समुदायका महिला तथा बालबालिकाहरुको पोषण अवस्था सुधार गर्न आवश्यक रहेको भन्दै सुआहारा तेस्रो चरणको कार्यक्रम ल्याउनका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता एवं ७ नम्बरका वडाका अध्यक्ष रमेशकुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोही कार्यक्रमको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले डेंगुरोगसम्बन्धी विषयमा अभिमुखीकरणसहित आफ्नो प्रस्तुती प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिकाको जनस्वास्थ्य अधिकृत चन्दन सुवेदी, शिक्षा अधिकृत कमलप्रसाद ढकाल, कृषि अधिकृत आकृति ढुङ्गाना, सहायक महिला विकास निरीक्षक प्रतिमादेवी शर्मा, मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापा, सुआहाराको वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र अधिकारी र फिल्ड संयोजक बालकुमारी पुनले आ–आफ्नो शाखा, संस्थाको गतिविधि र कार्यक्रमको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

नगर प्रमुख केसीको अध्यक्षता, मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालन र सिनियर अनमी लिलाकुमारी गौतमले स्वागतसहित उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका भावना पौडेल र स्थानीय स्रोतव्यक्ति दिपक घिमिरेले अनुभव सुनाउनुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार