म्याग्दीमा अटोरिक्सा सञ्चालनको तयारी

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा अटोरिक्सा सञ्चालनको तयारी भएको छ ।बेनी बजार र आसपासका क्षेत्रमा छोटो दुरीको यातायात सेवाका लागि अटोरिक्सा सञ्चालनका लागि रुट परमिट जारी गर्ने प्रक्रिया अघि बढाएको बेनी नगरपालिकाले जनाएको छ । नगरप्रमुख सुरत केसीले कार्यपालिकाबाट अटोरिक्सा सञ्चालन सम्बन्धी कार्यबिधी बनाएर व्यवसायीलाई दर्ताका लागि सूचना जारी गर्न लागिएको जानकारी दिनुभयो ।

“नगरपालिकालाई अटोरिक्सा सञ्चालनका लागि रुट परमिट जारी गर्ने अधिकार छ,” उहाँले भन्नुभयो “सोही व्यवस्था अनुसार नगरवासीलाई सहज यातायात सेवाका लागि अटोरिक्साको रुट परिमिट खुलाउन लागिएको हो ।”

पहिलो चरणमा २० वटा अटोरिक्साको अनुमति दिन लागिएको नगर प्रमुख केसीले बताउनुभयो । प्रभावकारी भएमा संख्या थपिने उहाँले बताउनुभयो । केसीको अनुसार बेनी बजार भित्र, बेनी–गलेश्वर, बेनी–तातोपानी, बेनी–रत्नेचौर रुटमा अटोरिक्सा सञ्चालनका लागि रुट परमिट दिन लागिएको हो ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले कार्यपालिकाले अटोरिक्सा व्यवस्थापन कार्यविधी बनाएको र रुट परमिटका लागि सूचना जारी गर्ने तयारी भएको बताउनुभयो । अटोरिक्सा चलाउने लाइसेन्स भएकाले रुट परमिटका लागि आवेदन दिन पाउनेछन् ।

परिमिट जारीभएपछि भाडादर निर्धारण गरिनेछ । अटोरिक्सा सञ्चालन भएपछि छोटो दुरीका यात्रुलाई आवत जावतमा सहज हुने अपेक्षा गरिएको छ । बेनी–तातोपानी सडक कालोपत्र भएको छ । बेनी–रत्नेचौर सडक कालोपत्रलाई पूर्णता दिन लागिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार