रेडक्रस पुलाचौरको शुभकामना आदानप्रदान तथा बिरामीलाई आर्थिक सहयोग

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको आयोजनामा नवदुर्गाको नवौं अर्थात् नवमी तिथिका दिन आज (मङ्गलवार) शुभकामना आदानप्रदान तथा बिरामीलाई आर्थिक सहयोग कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान् पर्व विजयादशमी, शुभदिपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै सहयोग प्रदान गरिएको हो ।

रेडक्रस उपशाखाको सभापति शिव बानियाँ, कोषाध्यक्ष गिरेन्द्र बानियाँ, सहसचिव दिनेश बानियाँ, सदस्यहरू सृष्टि लामिछाने, डेकबहादुर खत्रीलगायत उपशाखा कार्यसमिति, विपद् व्यवस्थापन समितिका पदाधिकारीहरू र सदस्यहरूबीच उपशाखा कार्यालय भीरमुनीमा शुभकामना आदानप्रदान गरिएको थियो । उपशाखाको विभिन्न विभाग तथा उपसमितिद्वारा उपशाखाको कार्यालय परिसरमा सरसफाइ समेत गरिएको छ ।

 

रेडक्रसमा लामो समयदेखि स्वयंसेवकको रूपमा भूमिका निर्वाह गर्दै आउनुभएका भीरमुनी निवासी देवेन्द्र बानियाँलाई उपशाखामार्फत नगद पाँचहजार रूपैयाँ आर्थिक सहयोग गरिएको उपशाखा सभापति शिव बानियाँले बताउनुभयो । १ महिना अघिदेखि ब्रेनट्यूमरको समस्याबाट ग्रसित भई बानियाँले हालै काठमाडौंको एक अस्पतालमा शल्यक्रियामार्फत उपचार गरी अहिले घरमा नै स्वास्थ्यलाभ गरिरहनुभएको छ । उहाँलाई रेडक्रसको एक टोलीले घरमै पुगेर भेटघाटसहित सहयोग हस्तान्तरण गरेको थियो ।

उक्त सहयोग रकम उपशाखा सभापति शिव बानियाँ, कोषाध्यक्ष गिरेन्द्र बानियाँ र विपद व्यवस्थापन समिति संयोजक दुतबहादुर बानियाँले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो । औषधोपचारको क्रममा घरमै आराम गरिरहनुभएका स्वयंसेवी युवालाई विजयादशमीको अवसरमा रेडक्रसकर्मीको टोली घरमै पुगेर नगद सहयोग गर्नुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गरिएको रेडक्रसको विपद व्यवस्थापन समिति संयोजक बानियाँले जानकारी दिनुभयो । पुलाचौर रेडक्रसले समुदायस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुका साथै विपद्मा परेकालाई नगद तथा जिन्सी सहयोग गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार