मुदी र लुलाङमा एमालेको चुनावी सभा

‘जे सक्छु जनताकै लागि गर्छु ,मलाई कुनै लोभ छैन ’

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । नेकपा एमालेबाट प्रदेशसभा निर्वाचन क्षेत्र (ख) का उम्मेदवार याम बहादुर गर्वुजाले जनताको लागि समर्पित भएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।प्रदेशसभा क्षेत्र (ख) निर्वाचन परिचालन कमिटीको आयोजनामा धवलागिरी गाउँपालिका वडा नम्वर २ लुलाङ र ४ मुदीमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै उम्मेदवार गर्वुजाले चुनाव जितेर गएपछि आफ्नो निर्वाचन क्षेत्रको जनताकै हितमा रहेर काम गर्ने बताउनुभएको हो ।

यहाँको जनताको समस्या तथा आवश्यकताहरुसंग म परिचत छु, भौगोलिक अवस्था र स्थानीय श्रोत र साधनको उपलब्धताको आधारमा विकासका कार्यहरु गर्नेछु, उम्मेदवार गर्वुजाले भन्नुभयो । व्यक्तिगत लाभ, स्वार्थ केहि नभई खाली जिल्लाको समृद्धिको अभियानलाई सफल बनाउने जिम्मेवारीका साथ आफु जनतामाझ आएको गर्वुजाको भनाई थियो ।

पार्टीको घोषणापत्र र आफ्नो प्रतिवद्धता अनुसारका कार्यहरुलाई प्राथमितामा राखेर आफ्नो निर्वाचन क्षेत्र भित्र रहेका धवलागिरी, मालिका र मंगला गाउँपालिकाका जनताको आवश्यकतालाई परिपूर्ति गर्नका लागि आवाज उठाउने बताउदै नीति, निर्माण तहमा पनि आफ्नो दमदार उपस्थिति जनाउने प्रतिवद्धता जनाउनुभएको हो । मंसिर ४ गतेको निर्वाचनमा जनताको काम गर्ने योद्धा सोचेर सूर्य चिन्हमा भोट गरि आफुलाई जिताउन आग्रह गर्दै उम्मेदवार गर्वुजाले जनताको भरोसा र विश्वासलाई आत्मसाथ गरेर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईन्चार्ज भूपेन्द्र बहादुर थापाले सुशासन, विकास, समृद्धि र समानताको संकल्प लिएर आएको एमाले जनताको साथमा रहेकाले अर्को कुनैपनि शक्ति संग नझुक्ने बताउनुभयो । निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहनुभएका थापाले राष्ट्रिय हित, स्वाधिनता र स्वाभिमानको रक्षा, राजनीतिक स्थायित्व, मितव्ययी, पारदर्शी र जनउत्तरदायी शासन व्यवस्था संचालनका लागि एमालेनै सक्षम देखिएकाले जनताको विश्वास गठवन्धनलाई नभई एमालेतर्फ भएको बताउनुभयो । उहाँले आगामी मंसिर ४ को निर्वाचनमा सूर्य चिन्हमा मतदान गरि एमालेका उम्मेदवारलाई विजयी गराउन पनि अनुरोध गर्नुभयो ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला सहईन्चार्ज नरदेवी पुनले समृद्ध नेपालः सुखी नेपाली को राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्न मंसिर ४ को निर्वाचन पछि देशमा एमालेको सरकार बन्न आवश्यक रहेको बताउनुभयो । निवर्तमान प्रदेशसभा सदस्य तथा पूर्व समाजिक विकास मन्त्री समेत रहनुभएका पुनले एमाले सरकारले मानव विकास, भौतिक विकास, गरिबी निवारण, लैङगिक समानता, शैक्षिक उन्नति, स्वास्थ्य, कृषि, पर्यटन, सडक लगायतका क्षेत्रमा उल्लेख्य विकास गरेको बताउदै हाल परमादेशबाट जारी भएको गठवन्धनको सरकारले मुलुकलाई संकटको संघारमा पु¥याएको आरोप लगाउनुभयो ।
कार्यक्रममा जिल्ला कमिटी उपसचिव थमसरा पुन, सचिवालय सदस्य खरमाया विटालु, जिल्ला सदस्य दिनेश केसी, मदन मल्ल, पालिका कमिटी अध्यक्ष रेशम छन्त्याल लगायतले मंसिर ४ गते ४ वटै मतपत्रमा सूर्य चिन्हमा छाप लगाई नेकपा एमालेका उम्मेदवारलाई भारि मतले विजयी गराउन अनुरोध गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार