गलेश्वरधाम आमा समुहद्वारा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  धनिलाल गर्बुजा

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा स्त्री रोग सम्बन्धी एक दिने स्वास्थ्य शिविर सञ्चालन सम्पन्न भएको छ । शुक्रबार गलेश्वरधाम आमा समुहको आयोजना तथा बेनी अस्पताल म्याग्दी र लिड्स नेपाल पोखराको सहयोगमा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चलन सम्पन्न भएको हो ।
सामुदायीक स्वास्थ्य चौकी गलेश्वरको प्राङ्गणमा भएको शिविरमा ९३ बर्षिय जेष्ठ नागरिक धनसरी पाईजाको पहिलो स्वास्थ्य जाँच गरी उद्घाटन गरेको आमा समुहकी सचिब निशा महतले जानकारी दिनु भयो ।

शिविर कार्यक्रमका प्रमुख अतिथि बेनी नगरमालिका उप–प्रमुख ज्योती लामिछानेले आमा समुहद्वारा स्वास्थ्य शिविर आयोजना गर्नु अति नै प्रसंसनीय कार्य रहेको बताउँदै सामाज परिवर्तनमा आमाहरुको भूमिका महत्वपूर्ण रहेको सन्देश यस कार्यक्रमले दिएको बताउनुभयो । उहाँले महिला हिंसा विरुद्धको अभियान सञ्चालन भएको पहिलो दिनमा नै गलेश्वरधाम आमा समूहले रचनात्मक कार्य गरेको भन्दै स्त्री रोगका बारेमा नियमित रुपमा स्वास्थ्य परिक्षण गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महिलाको स्वास्थ्य सुधार भएमात्रै परिवार र समाजको स्वास्थ्य सुधार हुने र अझैपनि गाउँघरमा महिलाहरु प्रजनन् र यौन सम्बन्धिका समस्याहरु लुकाउने गरेको उप–प्रमुख लामिछानेले बताइन् । परिवारमा खुलेर नभन्ने, उपचारको लागि अपस्ताल नजानेजस्ता समस्या रहेको भन्दै आगामी दिनमा यस्ता कूप्रथाको अन्त्य गर्नुपर्नेमा उहाँको भनाई थियो ।

गलेश्वरधाम आमा समूहका अध्यक्ष फुलकुमारी रोकाले विभिन्न सामाजिक गतिविधिमा सक्रिय आमा समूहले ज्येष्ठ नागरिक आश्रम र गलेश्वर बजार क्षेत्रका महिलाहरुलाई लक्षित गरि शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले शिविरमा स्त्रीरोगको साथै क्यान्सर रोगको समेत परिक्षण सेवा पाउँदा स्थानीयबासी हर्षित बनेको बताउनुभयो ।


शिविरमा बेनी अस्पतालका डाक्टर सजना श्रेष्ठ, अनिता वाइबा, भारती, रामु सापकोटा लगायतको टोलीले स्वास्थ्य उपचार सेवा प्रदान गर्नु भएको थियो । आमा समुहकी अध्यक्ष फुलकुमारी रोकाको अध्यक्षता नविना केसीको स्वागत र निशा जिसीले सञ्चालन गरेको कार्यक्रममा १५० जना भन्दा बढीले उपचार सेवा लिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार