जनप्रिय माविले विविध कार्यक्रम सहित ७१औं वार्षिकोत्सव मनायो (तस्बिरहरु )

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६ ,स्थित जनप्रिय माविले आफ्नो ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रबार छ्यारछ्यारे स्थित विद्यालयले विविध कार्यक्रम सहित वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै मालिका गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले वार्षिकोत्सवको शुभकामना व्यक्त गर्नुभयो । उहाँले जिल्लाकै जेठो विद्यालयको रुपमा रहेको जनप्रिय माविको भौतिक पुर्वाधार संरचना निर्माणका लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।

उहाँले क्याम्पस सञ्चालनको लागि छलफल भैरहेको बताउनुभयो । शिक्षा क्षेत्रको सुधारका लागि सबै एक हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष पथबहादुर रोका मगर ,विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष छवि बिक ,अक्षयकोष तर्फबाट रतन तुलाचन विद्यालयका संस्थापक सदस्य तथा पुर्व जिविस सभापति ओमप्रकाश शेरचन लगायतले बोल्नुभएको थियो । प्रअ दिवाकर सुवेदीले विद्यालयमा भौतिक संरचना निर्माण भएको जानकारी गराउँदै थप संरचना निर्माण र क्याम्पस सञ्चालनको लागि स्थानीय ,प्रदेश र संघिय सरकारले ध्यान दिन आग्रह गर्नुभयो । पश्चिम क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर क्याम्पस सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा वडा नम्बर ६ का निवर्तमान वडा अध्यक्ष सन्तनाथ सुवेदीले दुई विपन्न अभिभावकत्व ग्रहण गर्नुभयो भने चार जना विपन्न परिवारका विद्यार्थीलाई पोशाक र स्टेशनरी सामाग्री सहयोग गर्नुभयो । व्यवसायी दम्पती तुलसीराम र सीता सुबेदीले बिपन्न बिधार्थीहरुका लागी ४० जोर जुत्ता सहयो गर्नुभयो। गजबहादुर कमलादेबी तुलाचन स्मृती अक्षयकोषबाट गरिब तथा कक्षा ८,१० र १२ मा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई ६० हजार रुपैयाँ छात्रवृत्ती वितरण गरिएको विद्यालयले जनाएको छ । सोही अवसरमा दोश्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार बितरण समेत गरिएको छ ।

वडा सदस्य नगेन्द्र निउरे ,शिक्षक ,पुर्व विद्यार्थी ,अभिभावक लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेका थियो । विद्यालयले बर्षभरीको अतिरित्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थी सम्मान गरेको छ । जनप्रिय माविमा कक्षा १२ सम्म पढाई हुँदै आएको छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गौमति चापागाईको अध्यक्षता ,शिक्षकद्धय नगेन्द्रबहादुर खत्री र बालकृष्ण शर्माले संचालन गर्नुभएको कार्यक्रममा शिक्षक जगतकुमार सापकोटाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अवकाश प्राप्त शिक्षक इन्दिरा तुलाचनलाई विदाई गरिएको थियो ।उहाँ उक्त विद्यालयमा ४२ बर्षदेखि अध्यापनरत हुनुहुन्थ्यो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार