गण्डकी प्रदेश सरकारमा माओवादीबाट म्याग्दीका जुग्जाली मन्त्री बन्ने

  म्याग्दी न्युज संवाददाता

पोखरा । गण्डकी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट म्याग्दीका रेशमबहादुर  जुग्जाली (सुविन)लाई सरकारमा पठाउने भएको छ । पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र ख बाट निर्वाचित जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

माओवादीको गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजकसमेत रहेका ३९ वर्षे जुग्जालीलाई सरकारमा पठाउने निर्णय भएको बताउनुभयो । माओवादीका तर्फबाट संसदीय दलका नेता हरिबहादुर चुमान मन्त्री भइसक्नुभएको छ । तर मन्त्रीहरुलाई जिम्मेवारी भने दिइएको छैन । जुग्जाली म्याग्दीकाे मालिका गाउँपालिका वडा नम्बर ७ बिममा जन्मनुभएकाे हाे ।

प्रदेश सरकारले सोमबार बिहान मन्त्रालयको संख्या १२ बाट घटाएर ७ वटा बनाउने निर्णय गरेको थियो । पुष २५ गते नियुक्त भएका मुख्यमन्त्री खगराज अधिकारीले सोही दिन माओवादीका चुमान, एमालेकी सिताकुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुंगलाई मन्त्री नियुक्त गर्नुभएको थियो । सरकारमा सहभागी दलहरुबीच एमालेले ४, माओवादीले २ र राप्रपाले एक मन्त्री लिने समझदारी बनेको छ ।

‘पार्टीको सिफारिसमा संसदीय दलको बैठकले जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको छ,’ माआवादी केन्द्रका एक सांसदले भन्नुभयो “कसले कुन मन्त्रालय लिने भन्ने निर्णय हुन बाँकी छ ।’गत चुनावमा अपेक्षाकृत नतिजा हाँसिल गर्न नसकेको माओवादीले म्याग्दीमा भने गठबन्धनबाट दुई वटै निर्वाचन क्षेत्र जितेको थियो । समानुपातिकतर्फ पनि २०७४ को तुलनामा म्याग्दीमा माओवादीको मत बढेको थियो । सोही आधारमा म्याग्दीले सरकारमा सहभागीता पाउनुपर्ने दावी गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार