निःशुल्क स्वास्थ्य शिविरबाट दुईसय बढी लाभान्वित

  बिप्लब कार्की

दरबाङ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रुममा सम्पन्न बृहत तथा निःशुल्क स्वास्थ्य शिविरमा २ सय ३६ जनाले सेवा लिएका छन् । मालिका–६, दरबाङमा सञ्चालित दरबाङ्ग पोलिक्लिनीक एण्ड प्याथ ल्याव प्रालिको आयोजना, वडानम्बर २ र रुम स्वास्थ्यचौकीको सहयोग तथा समन्वयमा शनिवार सम्पन्न स्वास्थ्य शिविरबाट रुमका स्थानीयवासी लाभान्वित भएका हुन् ।

शिविरमा हार्डजोर्नीसम्बन्धी समस्या भएका बिरामीले बढी सेवा लिएका छन् । शनिवार सञ्चालन भएको शिविरमा ५० जना पुरुष र १ सय ८६ जना महिलाले स्वास्थ्य सेवा लिएको आयोजक दरबाङ पोलिक्लिनीक एण्ड प्याथ ल्याव प्रालिका सञ्चालक सरोज घर्ती मगरले जानकारी दिनुभयो । शिविरमा पेट, कलेजो, मृगौला, छाती, मुटु, प्रेसर, सुगर तथा थाईराइड रोगसम्बन्धी विशेषज्ञहरुद्वारा बिरामी जाँच (कन्सलटेन्ट फिजिसियन), ई.सि.जी. सेवा, भिडिओ एक्सरे, सुगर र जनरल जाँच गरी निःशुल्क औषधी समेत वितरण गरिएको उहाँले बताउनुभयो ।

५० जनाले ईसिजी, गर्भवती महिला समेत गरी ७० जना बढीले भिडिओ एक्सरे, २ सय जनाले सुगर, ७ जनाले मृगौलाको जाँच गराएका थिए । दुर्गम वस्तीका बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको दरबाङ्ग पोलिक्लिनीक एण्ड प्याथ ल्याब प्रालिका सञ्चालक अभिषेक जिसीले बताउनुभयो । वडा अध्यक्ष उदयकुमार बुढाथोकीले आयोजकलाई धन्यवाद व्यक्त गर्दै स्वास्थ्य शिविर सञ्चालनले वडावासीलाई ठूलो सहयोग पुगेको बताउनुभयो ।

फिजिसियन डाक्टर बिजय शर्मा, दरबाङ्ग पोलिक्लिनीक एण्ड प्याथ ल्याव प्रालिका सञ्चालकद्वय जिसी र घर्ती मगर, ल्याव टेक्निसियन सरोज केसी, रुम स्वास्थ्यचौकी प्रमुख विरबहादुर पुन लगायतको टोलीले स्वास्थ्य सेवा दिनुभएको थियो । दरबाङ्ग पोलिक्लिनीक एण्ड प्याथ ल्याव प्रालिले २४सै घण्टा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्योपचार सेवा दिंदै आएको छ । यसैगरी दरबाङ्ग पोलिक्लिनीक एण्ड प्याथ ल्याव प्रालिमा दन्त विभाग समेत सञ्चालन भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार