पूर्ण खोप कार्यक्रमको समीक्षा, दीगोपना र सरसफाइ प्रवर्द्धन सम्बन्धी योजना तयारी गोष्ठी

  म्याग्दी न्युज संवाददाता

म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार) जिल्लामा पूर्ण खोप कार्यक्रमको समीक्षा तथा पूर्ण खोप दीगोपना र सरसफाइ प्रवद्र्धनका लागि योजना तयारी गोष्ठी सम्पन्न भएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्वाधार सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित कार्यक्रम गरिएको हो ।

जिल्ला खोप समन्वय समिति म्याग्दी र स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा सम्पन्न योजना तयारी गोष्ठीलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले जिल्लालाई पूर्ण खोप सुनिश्चित गर्नका लागि प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले पूर्ण खोप लगाउनबाट बञ्चित बालबालिकाहरुलाई खोपको पहुँचमा ल्याउन स्थानीय तहले आवश्यक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।


सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सरकारी मापदण्डअनुसार बालबालिकाहरुलाई पूर्ण रुपमा खोपहरु लगाउनुपर्ने बताउनुभयो । उहाँले स्वस्थ, दक्ष, सक्षम र योग्य नागरिक उत्पादन गर्नका लागि बच्चा गर्भमा रहेदेखि जन्मिएको २ वर्षसम्मको अवधिमा उचित खानपान, सरसफाइ र स्वास्थ्यका सबै मापदण्डहरु पुरा गर्न आवश्यक रहेको बताउँदै समुदायमा खोपको सुनिश्चितता गर्नका लागि सबै प्रतिबद्ध रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममाथि सहजीकरण गर्दै स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले स्वास्थ्य क्षेत्र विकासका लागि एउटा प्रमुख एजेण्डा भएको बताउनुभयो । उहाँले देशमा समृद्धि ल्याउनका लागि बाल तथा मातृ मृत्युदर घटाएर औषत आयु बढाउनुपर्ने बताउँदै खोप कार्यक्रम सँगसँगै सरसफाइ प्रवद्र्धन कार्यक्रम पनि सञ्चालन भैरहेको बताउनुभयो । अहिले एउटा बच्चालाई पूर्ण खोप लगाउनको लागि ३० हजार रुपैयाँ खर्च हुने बताउँदै नेपालमा बालबालिकाहरुलाई जम्मा १३ वटा मात्रै खोप लगाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले गोष्ठीको उद्देश्य, स्वास्थ्य, स्वास्थ्य र विकास, आधारभूत स्वास्थ्य सेवा, दीगो विकास लक्ष्य प्राप्ति, समृद्धि र विकासका सूचक, स्वास्थ्यः विकासको मुद्दा, स्वास्थ्य र गरिबी चक्रको सम्बन्धलगायत विविध विषयहरुमा सहजीकरण गर्नुभएको थियो । यसैगरी कार्यक्रममा पूर्ण खोपको विषयमा स्वास्थ्य कार्यालयका कोल्चेन सुपरभाइजर वीरेन्द्रकुमार चौधरीले पनि सहजीकरण गर्नुभएको थियो ।

राष्ट्रिय खोप कार्यक्रमको लक्ष्य, उद्देश्य, उपलब्धि र चुनौती एवं आधारभूत स्वास्थ्य सेवाको बारेमा जानकारी गराउन तथा पालिकास्तरीय खोप कार्यक्रमको समीक्षा गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले जनाए अनुसार मानिस स्वस्थ हुनका लागि शारिरीक, मानसिक, सामाजिक र भावनात्मक रुपमा सक्षम र स्वस्थ हुनुपर्दछ ।

जिल्लास्थित पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय प्रशासन तथा सुरक्षा निकाय, कार्यालय र संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायत सहभागी कार्यक्रम जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको अध्यक्षता र स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भीमप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । यसअघि हिमाली जिल्ला म्याग्दीलाई २०७१ साल चैत १५ गते नेपालको छैटौं पूर्ण खोपयुक्त जिल्लाको रुपमा घोषणा गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार