बेनी नगरपालिकाद्वारा नगर प्रहरी भर्ना तथा काममा परिचालन

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले नगर प्रहरी भर्ना गरी आज (बिहीबार) दज्र्यानी चिह्न प्रदान गरेको छ । बेनी नगरपालिकाको नगर प्रहरी सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७९ अनुसार नगर प्रहरी भर्ना गरिएको हो ।

बेनी नगरपालिकाका मेयर सुरत केसीले नगर प्रहरीका हवल्दार शंकर पौडेल र सिपाहीद्वय रेजिना विक तथा अभिषेक मिजारलाई दज्र्यानी चिह्न प्रदान गर्नुभयो । गएको शुक्रवार नियुक्ति गरिएका तीनजना नगर प्रहरीलाई विहिबार एक समारोहबीच दज्र्यानी चिह्न प्रदान गरी काममा परिचालन गरिएको बेनी नगरपालिकाले जनाएको छ ।

प्रहरी हवल्दारमा तीनजना र सिपाहीमा १० जनाको आवेदन परेकोमा लिखित परीक्षा तथा अन्तर्वार्ता, स्वास्थ्य परीक्षण गरी तीन जनालाई छनोट गरिएको थियो । छ वटा पालिका रहेको म्याग्दीमा बेनी नगरपालिकाले पहिलोपटक नगर प्रहरी भर्ना गरेको हो ।

आधारभूत तालिम पाएपछि नगर प्रहरीहरु नगरपालिकाको औपचारिक काममा खटिएका छन् । उनीहरुले कार्यविधि अनुसार सेवासुविधा पाउने छन् । नगर कार्यपालिकाको निर्णय तथा आदेश र कार्यविधिमा उल्लेख भए बमोजिम नगर प्रहरीलाई विभिन्न ३४ प्रकारका काम गर्ने अधिकारहरु दिइएको छ ।

संविधान र स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहलाई आफ्नै प्रहरी भर्ना गर्न पाउने अधिकार उल्लेख छ । नगर प्रहरीलाई सार्वजनिक सम्पत्तिको संरक्षण, न्यायिक समितिको काम कारवाहीमा सघाउने, राजश्व सङ्कलन एवं विपद् व्यवस्थापनमा परिचालन गरिने बेनी नगरपालिकाका मेयर केसीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार