कार्यसम्पादन मुल्यांकनमा मंगला देशकै उत्कृष्ट ७ पालिका भित्र पर्न सफल,अन्य पालिकाले कति अंक ल्याए ?

  म्याग्दी न्युज संवाददाता

बेनी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा म्याग्दीको मंगला गाउँपालिका देशकै उत्कृष्ट ७ स्थानीय तहभित्र पर्न सफल भएको छ । बेनी नगरपालिकाले पनि ७१ अंक प्राप्त गरेर ७० अंक कटाउन देशभरका ३९ वटा स्थानीय तहको सूचिभित्र पर्न सफल भएको छ ।

कार्यसम्पादन_सूचक_मूल्याङ्कन1

७५ अंक कटाउने ७ स्थानीय तहभित्र परेको मंगलाले ७७.९ अंक प्राप्त गरेको आयोगले जनाएको छ । त्यस्तै म्याग्दीका अन्नपुर्ण गाउँपालिकाले ६१.३४,रघुगंगा गाउँपालिकाले ५९.२० ,मालिका गाउँपालिकाले ६२.४८ र धवलागिरी गाउँपालिकाले ५६.७२ अंक प्राप्त गरेका छन् । संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि सय अंकभार दिएर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले १७ सूचकका आधारमा गत आर्थिक वर्ष २०७८÷७९ को स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गरेको हो ।

स्थानीय तहको हकमा समयमा बजेट पेस गरे–नगरेको, असार मसान्तभित्र बजेट पास गरे–नगरेको, राजस्व बाँडफाँट गरे–नगरेकोदेखि बजेट बेरुजु, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवतीको संख्यालगायत सूचकलाई मूल्यांकनको आधार मानिएको छ ।आयोगले आर्थिक वर्ष ०८०÷८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि यस्ता सूचकका आधारमा सबै प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कन गरेको हो ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले तल्ला तहमा केन्द्र सरकारले अनुदान दिने व्यवस्था गरेको छ ।जसअनुसार नेपाल सरकारले आयोगको सिफारिसमा प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था छ ।आयोगले सम्बन्धित स्थानीय तह र संघीय सरकारका विभिन्न निकायबाट प्राप्त तथ्यांकका आधारमा कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरिएकाे हाे  ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार