गलेश्वरमा दर्शन गर्ने भक्तजनहरुको भीड (फोटो फिचर)

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन गर्नेहरुको भीड लागेको छ । महाशिवरात्री पर्वको अवसरमा शनिबार गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्नेको भीड लागेको हो । गलेश्वर एक अलौकिक शक्ति धामको रुपमा परिचित छ । धर्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्वपूर्ण मानिएको गलेश्वरधाम राहु नदी र कालीगण्डकीको पवित्र सङ्गममा पर्दछ ।

गलेश्वर मन्दिरमा पुजा गर्न आउने भक्तजनलाई लक्षित गरी विद्यार्थी ,शिक्षक ,प्रहरी ,सामुदायक प्रहरी,क्लब तथा स्थानी आमा समुहले सेवा दिए । पुजा गर्न आउने भक्तजनलाई लक्षित गरी स्वयंसेवक परिचालन गरिएको गलेश्वरधाम क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । गलेश्वरधामलाई नेपालको पश्चिम क्षेत्रको पशुपतिनाथको रुपमा समेत चिनिन्छ ।

नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित यस शीलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र वृक्षले यसको धार्मिक महिमालाई उजागर गरेको छ । श्रीमद्भागवत् पुराणअनुसार श्री महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी नदीको किनारैकिनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गलापतन हुँदा ज्योतिलिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहनुभएकाले यसको नाम गलेश्वरधाम रहन गएको लिखित दस्तावेजमा उल्लेख भएको पाइन्छ ।

चक्रशीलाको परिधिमा शालिग्राम, शिवलिङ्ग र भगवानको चित्र, त्रिशूल, शङ्ख, नाग, देवदेवीका मूर्तिको आकृतिका दृश्य अलौकिक मानिन्छ । पूर्वमा कृष्ण गण्डकी, गायत्री मन्दिर, पश्चिम कालञ्जरवन, पुलहाश्रम, उत्तरमा सप्तऋषिको तपोभूमि रिखा, धौलगिरि हिमश्रृंखला र मुक्तिनाथ, दक्षिण बेनीबजार र म्याग्दी नदी रहेका छन् ।

बेनीबजारबाट तीन किलोमिटर उत्तरतर्फ मुक्तिनाथ प्रवेशद्धारका रुपमा रहेको यो द्वार मुक्तिद्वारको रुपले समेत चिनिन्छ । चक्राकार जलबराहकुण्डको दर्शन पूजन, अभिषेक गर्नाले पाप र ताप नाश भई त्रितापबाट मुक्ति मिल्ने विश्वासले गलेश्वरधाम दर्शन गर्न आएको धादिङका रामकृष्ण तामाङले बताउनुभयो ।शनिबार पर्वत बागलुङ,काठमाडौं ,पोखरा ,चितवन ,वुटवल, भैरवा धादिङ लगायत देशका विभिन्न जिल्लाबाट भक्तजनहरु आएका छन् । मनोकांक्षा पुरा हुने विश्वासले दर्शन गर्न आएको बागलुङ नगरपालिका–३,का बेदप्रसाद शर्मा पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार