ज्ञानोदय र रघुगंगाका किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिइयो (तस्बिरहरू)

म्याग्दी । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा आज (सोमबार) विद्यालयका किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिइएको छ । रघुगंगाको मौवाफाँटमा सञ्चालित ज्ञानोदय माध्यमिक विद्यालयमा किशोरीहरुलाई लक्षित गरी आत्मरक्षाको बारेमा सचेतनामूलक कार्यक्रम गरिएको हो ।

सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा आर्थिक सहयोग र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बेनी अस्पताल तथा मिलन म्याग्दीको आयोजनामा कार्यक्रम गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले विद्यालयका किशोरीलाई लक्षित गरेर सञ्चालित आत्मरक्षासम्बन्धी तालिम अत्यन्तै सराह्रनीय रहेको बताउनुभयो । उहाँले गाउँपालिकाभित्र लैङ्गिक हिंसा न्युनीकरण गर्नको लागि पालिकामार्फत आवश्यक पहल थालिएको बताउनुभयो ।

उक्त कार्यक्रममा आत्मरक्षा तथा ओसिएमसीको विषयमा पनि सचेतीकरण गराइएको थियो । कार्यक्रममा बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत एवं ओसिएमसीका प्रमुख डाक्टर बिराज आचार्यले किशोरी अवस्था, हिंसा, हिंसाको विरुद्ध आत्मरक्षा गर्ने तरिका र ओसिएमसीको अवधारणासहित उपलब्ध सेवा सुविधाहरुको बारेमा सहजीकरण गर्नुभएको थियो । यसैगरी सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले लैङ्गिक हिंसा तथा बालविवाह न्युनीकरणको विषयमा किशोरीहरुसँग अन्तत्र्रिmया गर्नुभयो । कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले लैङ्गिक हिंसा र बालविवाहको विषयमा सहजीकरण गर्नुभएको थियो ।

त्यस्तै आत्मरक्षा तालिमका प्रशिक्षक एवं गण्डकी खेलकुद परिषद सदस्य चन्द्रा घले गुरुङले आत्मरक्षासम्बन्धी विषयमा सैद्धान्तिक कक्षाको साथै किशोरीहरुलाई प्रयोगात्मक अभ्यास समेत गराउनुभएको थियो । कार्यक्रममा अल्पकालीन सेवा केन्द्र म्याग्दीका प्रमुख साधना केसीले सेवा केन्द्रबाट उपलब्ध हुने सेवासुविधाको बारेमा जानकारी गराउनुभयो । सामाजिक विकास कार्यालयका प्रमुख थापाले सरकारले ‘सभ्य समाज, गण्डकी समाज’ कार्यक्रमअन्तर्गत रहेर विद्यालय तहबाटै किशोरीहरुलाई आत्मरक्षा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसहित वार्षिक स्वीकृत कार्यक्रमअनुसार किशोरीहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

ओसिएमसीका फोकलपर्सन पबिना पूर्जाको सञ्चालनमा सम्पन्न कार्यक्रममा ज्ञानोदय माविका प्रधानाध्यापक विजय सुवेदी, रघुगंगा माविका शिक्षक जमुनादेवी शर्मा र विद्यार्थी आशिका भूजेलले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा ज्ञानोदय र रघुगंगा माविका किशोरी तथा शिक्षकको सहभागिता रहेको थियो । रघुगंगाको रितुङ मावि कुईनेमङ्गले, अमर मावि चिमखोला, मुक्तिधाम मावि राखुभगवती, महादेव मावि बेगखोला, कालिका मावि तिप्ल्याङ, महेन्द्र मावि झिँ, अमर मावि पाखापानी, रघुगंगा मावि राखुपिप्ले र ज्ञानोदय मावि मौवाफाँटमा अध्ययनरत किशोरीहरुलाई आत्मरक्षासम्बन्धी विषयमा तालिम दिइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार