नेपाली चेलीद्धारा अमेरिकी महादेशको अकान्कागुवा हिमालको आरोहण (तस्बिरसहित)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । नेपालकी एक चेली  अमेरिकी महादेशकाे अकान्कागुवा हिमालको सफल आरोहण गर्नुभएको छ । मनाङको नाशोङ गाउँपालिका–७,मा जन्मनुभएकी मनु गुरुङ दक्षिण अमेरिका महादेशको सबैभन्दा अग्लो हिमाल माउन्ट अकान्कागुवाको सफल आरोहण गर्नुभएको हो ।

म्याग्दीको मालिका गाउँपालिका–७,बिम निवासी गुरुङ अर्जेन्टिनाको मन्डोजा प्रदेशमा रहेको ६९६२ मिटर अग्लो हिमाल चढ्न फेब्रुअरी १ मा त्यसतर्फ जानुभएको थियो ।माउन्टेन वुमन अफ द वर्ल्ड नेटवर्क नामक संस्थाको सहयोगमा हिमालको सफल आरोहण गर्नुभएको उहाँका श्रीमान सान जुग्जालीले जानकारी दिनुभयो ।

उक्त संस्थाले नेपालबाट गुरुङ सहित विभिन्न देशका १५ जना महिलालाई आरोहणमा सघाएको हो । मनु नेपालको एकमात्र प्रतिनिधि हुनुहुन्छ । आरोहणमा गएकामध्ये ९ जनाले मात्रै सफल आरोहण गरेको बताइएको छ ।गुरुङ सन् २००८ देखि पर्वतीय पर्यटनमा आबद्ध रहनुभएको छ । गुरुङले यसअघि नै अन्नपूर्ण क्षेत्रको टेन्ट पिक, चुलु पश्चिम, अन्नपूर्ण चौथो, मिरा पिक, आइल्याण्ड पिक, फोकाल्दे, लोबुचे पिक र धम्पुस पिकको सफल आरोहण गरिसक्नुभएको छ ।

उहाँले युरोपको डोलोमिटी पिक र माउन्ट कार्किनेटाको आरोहण गरिसक्नुभएको श्रीमान जुग्जालीले बताउनुभयो । म्याग्दीली बुहारी समेत रहनुभएकी गुरुङले हिमाल चढेर अन्तर्राष्ट्रियस्तरमा देशको नाम राख्न सफल भएकोमा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बधाई दिँदै खुशी व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार