म्याग्दीमा जिल्लास्तरीय आठौंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

  म्याग्दी न्युज संवाददाता

बेनी। म्याग्दी सदरमुकाम बेनीमा जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकूद विकास समिति म्याग्दीको आयोजनामा खुल्ला मञ्चमा  शुक्रबारदेखि सुरु भएको खेलकूद प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा‘खम्बिर’ले गर्नुभयाे ।

जिल्लाका ६ वटै पालिका सहभागितामा रहेको प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य गर्वुजाले प्रतियोगिताले पालिकास्तरको खेलबाट पहिचान भएका उत्कृष्ट खेलाडीको खेलप्रतिभा उजागर गराउन सहयोग पुगेको बताउनुभयो । उहाँले जिल्लाको खेलकुद क्षेत्रको पुर्वाधार निर्माणमा संघमा सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

शनिबारसम्म संचालन हुने रनिङ शिल्ड प्रतियोगिता अन्तरगत भलिबल, कबड्डी, एथलेटिक्समा पालिकास्तरीयबाट सहभागि खेलाडी विद्यार्थीबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा विभिन्न विद्याका ४८ वटा स्वर्णमा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने पालिकाले क्रमश २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ ।

समितिका अध्यक्ष दिनेश केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विमला गौचन, जिसस प्रमुख राजकुमार थापा, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन र प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । रनिङशिल्ड उद्घाटनमा पालिकास्तरीय मार्चपासमा प्रथम मंगला गाउँपालिका, द्धितिय रघुगंगा गाउँपालिका र तृतिय अन्नपूर्ण गाउँपालिका भएका थिए ।

त्यस्तै कार्यक्रममा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कपको महिला भलिवलमा विजेता हुने म्याग्दीका खेलाडीलाई पनि सम्मान गरिएको थियो ।जिल्लास्तरीय रनिङशिल्डमा उत्कृष्ट हुने विद्यार्थीहरुले फागनु २० र २१ गते पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा छनोट गराईने खेलकुद विकास समितिका अध्यक्ष केसीले बताउनुभयो । यस खेलकुद प्रतियोगिताबाट छनोट भएका ८८ जना खेलाडी प्रदेशमा सहभागि हुने छन् । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार