क्यान्सर पीडित शेरबुजालाई साढे नौ लाख रुपैयाँ सहयोग

  म्याग्दी न्युज संवाददाता

म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका–१,बेगकी क्यान्सर रोगबाट पीडित दुर्गा शेरबुजालाई साढे नौ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । फोक्सो क्यान्सर रोगबाट पीडित शेरबुजालाई उपचारका लागि अष्ट्रेलियामा रहनुभएका किरण शेरबुजाको अगुवाइमा ४ लाख ४२ हजार २७० रुपैयाँ ,अष्ट्रेलियामै रहनुभएका भुपी शेरबुजाको अगुवाइमा तीन लाख ५० हजार २५० रुपैयाँ र नेपाल मगर संघ जिल्ला समन्वय समितिको अगुवाइमा संकलित ५९ हजार २०० रुपैयाँ सोमबार एक कार्यक्रमका विच प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ ,नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकेश पुन लगायत पदाधिकारीहरुले हस्तान्तरण गर्नुभयो ।

यसैगरी बेनी एजुकेशन कन्सल्टेन्सीका सञ्चालक तथा लायन्स क्लब अफ बेनी पिस सिटीका अध्यक्ष नन्दकुमार पाइजाले एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । तीन महिनादेखि क्यान्सर रोगबाट ग्रसित शेरबुजाले भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराउँदै आउनुभएको छ । औषधी सेवन गरिरहनुभएकी शेरबुजाको उपचारमा आर्थिक समस्या देखिएपछि सहयोग अभियान सञ्चालन गरिएको छ । उपचार खर्च धेरै लाग्ने भएकोले क्यान्सर पीडित शेरबुजाले सहयोगको अपिल गर्नुभएको थियो । उहाँको उपचारको लागि आर्थिक सहयोग आउने क्रम जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार