‘तोरन ल्ह’ पर्व मनाउँदै थकाली समुदाय (तस्बिर सहित)

  म्याग्दी न्युज संवाददाता

बेनी । थकाली समुदायले आइतबारदेखि तोरन ल्ह (फागु पूर्णीमा) पर्व मनाउन शुरु गरेका छन् । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पुर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् ।

तोरन ल्ह मनाउन घरबाहीर र विदेशमा रहेका थकालीयहरु आफ्नो जन्मथलो फर्कीएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिगार पटार गरेका छन् । फागु पूर्णीमाको अघिल्लो दिन सुरु हुने तोरन ल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली समुदायकी अगुवा समेत रहेकी गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले जानकारी दिनुभयो ।

‘‘तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पित्रीहरुलाई सम्झिएर पुजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ,’’ उहाँले भन्नुभयो ‘‘आफन्तहरुलाई बोलाएर मिठा मिठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।’’ मुस्ताङको थासाङ गाउपालिकाको कोवाङ थकाली समुदायको उद्गम स्थल मानिन्छ ।

घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहूल्य बसोबास छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङ लगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ । तोरन्ल्ह पर्वको अवसरमा परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि थकाली सेवा समिति बेनी क्षेत्रको आयोजनामा तारो खेल सुरु भएको छ । महिलाहरु भने मौलिक भेषभुषामा सजिएर नाचगान गर्दै शुभकामना साटा साटा गरेर तोरन्ह मनाउँछन् ।

तारा खेल (धनुषवाण)लाई थकाली समुदायले आफ्नो जातिय पहिचानसँग जोडेका छन् । धार्मिक ग्रन्थहरुमा विभिन्न युद्धमा धनुषवाणको प्रयोग भएको भेटिएकाले यसको विकास मानव समाजको उत्पत्ती कालदेखिनै भएको अनुमान गरिन्छ । कुनै समय युद्धको महत्वपूर्ण हतियार, जंगली जनावरको शिकार गर्ने माध्यम धनुषवाणले अहिले खेलकुदको एउटा बिधाको रुपमा मान्यता पाएको छ ।

आर्चरी खेलमा प्रयोग हुने नियम र त्यसका शब्दहरु अल्पसंख्यक थकाली समुदायको भाषासंग मिल्ने हुनाले यसलाई थकाली समुदायले आफ्नो जातीय पहिचानको मानेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले बताउनुभयो ।

एउटा समुहमा ६ जनासम्म खेलाडी सहभागी भएर खेल्ने आर्चरीमा तिखो वाण र बिशेष गरेर बाँसको धनुष प्रयोग हुन्छ । पछिल्लो समय अन्य धानुका समेत घनुष बनाउने गरिएको छ । एक सय देखि डेढ सय मिटरको दुरिमा दुईतर्फ काठका फल्याक राखेर एकबाट अर्को ठाउँतर्फ वाण प्रहार गर्ने र वाण फल्याकभित्र मा कोपीएको आधारमा खेलको मूल्याङकन हुन्छ ।

फल्याकभित्र सानो गोलो आकारको घेराभित्र वाण कोपीएमा खोल पसेको भनिन्छ । खोल आर्चरी खेलमा महत्वपूर्ण उपलब्धि हो । तारो खेलको जिसस प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको थयो । थकाली सेवा समिति बेनी क्षेत्रका सचिव योगेन्द्रमान शेरचनको सञ्चालन र उपाध्यक्ष सुन्दरमान शेरचनले स्वागत गर्नुभएको कार्यक्रममा जिसस प्रमुख थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, निमित्त प्रजिअ धिरेन्द्रराज पन्त, बेनपा–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, थकाली सेवा समितिका केन्द्रिय सदस्य शंकर शेरचन, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । थकाली सेवा समितिका केन्द्रिय सल्लाहकार गोपालप्रसाद भट्टचन र बेनी क्षेत्रका अध्यक्ष जगनारायण शेरचनले गण्डकी प्रदेशसभा सदस्य विमला गौचनलाई बधाई ज्ञापन गर्दै सम्मान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार