पोखरेबगरमा सार्वजनिक सुनुवाई : ‘विकास , पर्यटन प्रवद्र्धन र ढिलासुस्तीप्रति ध्यानकर्षण’ (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिवार प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्म सम्पादन भएका विकास गतिविधि, सेवा प्रवाह र समग्र गाउँपालिकाको अवस्थाका बारेमा सेवाग्राही, स्थानीयबासी र सरोकारवालाहरुबाट गुनासा सुन्ने, सार्वजनिक सेवा प्रवाहलाई जवाफदेही बनाउने उदेश्यले आयोजित कार्यक्रममा स्थानीयबासीले गाउँपालिकाभित्रका विकास निर्माणको योजनाहरुमा भएका ढिलासुस्ती र स्थानीय स्तरमा रहेका समस्याहरुको बारेमा ध्यानकर्षण गराएका छन् ।

कार्यक्रममा सहभागीहरुले राष्ट्रिय गौरवको आयोजनाको रुपमा सञ्चालित बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको कामलाई तिब्रता दिन, पोखरेबगर–घार–चित्रे सडकलाई छिटो सम्पन्न गराउनका लागि आबश्यक समन्वय बढाउन गाउँपालिकाको नेतृत्वलाई आग्रह गरेका थिए । त्यसैगरि पोखरेबगर क्षेत्रमा बढ्दो फोहोरको समस्यालाई दिगो व्यवस्थापन गर्न, योजना सम्झौतालाई झण्झटरहित बनाउन, गाउँपालिकाको केन्द्रमा प्रहरी विट र सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना गर्न माग गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले गाउँपालिकाको आन्तरिक खर्च प्रणालीको सुद्धिकरणका लागि लेखा समितिको गठन गर्न, गाउँपालिकामा आउने सेवाग्राहीलाई सोधपुछ कक्ष र विश्रामस्थलको व्यवस्था गर्नुपर्ने, पशु सेवा शाखाका कर्मचारीहरुले लिने गरेको अतिरिक्त शुल्कलाई हटाउनुपर्ने, गाउँपालिकाले वितरण गर्ने कृषि सम्बन्धी बिउ, बिजनलाई स्थानीय आबश्यकतामा ध्यान दिनुपर्ने, स्थानीय उत्पादनको बजारीकरणमा पहल गर्नुपर्नेमा जोड दिएका थिए ।


कार्यक्रममा सहभागीहरुको जिज्ञासा मेटाउँदै गाउँपालिका अध्यक्ष भारत कुमार पुनले गाउँपालिकाभित्र सञ्चालित गौरवका योजनालाई प्रभाबकारी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पहल गरिएको र गाउँपालिकाले सञ्चालन गरेका योजनाहरुको प्रभाबकारीताको लागि नियमित अनुगमन र मुल्यांकनलाई जोड दिईएको बताउनुभयो । ‘‘ हाम्रो पालिकामा ठूला योजनाहरु अलपत्र अवस्था छन्, तिनको अवस्थाबारे हामीले सम्बन्धित निकायमा निरन्तर पहल गर्दै आएका छौँ,पूर्वाधार निर्माण र पर्यटन विकास मार्फत गाउँपालिकालाई समृद्ध बनाउन सकिन्छ भन्ने अभियानमा हाम्रो प्रमुख जोड रहेको छ’’–अध्यक्ष पुनले बताउनुभयो ।

उहाँले गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणको लागि जग्गा व्यवस्थापनमा जुटेको जानकारी दिँदै फोहोर व्यवस्थापनको लागि डम्पीङ साईडको खोजी सुरु गरेको बताउनुभयो । गाउँपालिकाको केन्द्रमा सुरक्षा र स्वास्थ्यको अभाबलाई मध्यनजर गर्दै आबश्यक कदम अघि बढाईएको बताउँदै गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको सम्भावनाको उजागर, पूर्वाधार निर्माणसंगै प्रचार प्रसारको माध्ययम मार्फत प्रवद्र्धन गर्न पालिकाले आबश्यक तयारी गरेको अध्यक्ष पुनको भनाई थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले गाउँपालिकाभित्र उद्यमशिलताको विकास, कृषि र पशुपालन क्षेत्रको व्यावसायिकरण गरि रोजगार सिर्जना गर्ने योजनाहरुलाई प्राथमिकता दिने गाउँपालिकाको नीति रहेको बताउनुभयो । उहाँले मजदुरका समस्या सम्बोधन गर्न श्रम डेक्स स्थापना गर्ने तयारी गरिएको जानकारी दिँदै गाउँपालिका कार्यालयमा आउने नागरिकको सुविधाका लागि विश्रामकक्ष र सोधपुछ कक्षको तयारी भैरहेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले सेवा प्रवाहलाई सरल, सहज र प्रभाबकारी बनाउने गरि गाउँपालिका अघि बढेको बताउनुभयो । उहाँले चालु आर्थिक बर्षमा उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजनाहरुमा ढिलासुस्ती भएको कारण बजेट कार्यान्वयनमा ढिलाई भएको बताउँदै वडा कार्यालयहरु मार्फत उपभोक्ताहरुमा थप सजीकरण गर्न लगाइएको बताउनुभयो । उहाँले गाउँपालिकाका कुनै पनि कर्मचारीले सेवाग्राही र सर्वसाधारणबाट अतिरिक्त शुल्क लिएको जानकारी आएमा तत्कालै कारबाही प्रकृया अघि बढाउने बताउँदै सुशासनमा शुन्य सहनसिलतालाई बहन गरिने बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष दिलिप पुन, वडा नम्बर ५ का अध्यक्ष राजेश तिलिजा, ६ का अध्यक्ष रामबहादुर खड्का, ७ का अध्यक्ष माइलन पुर्जा, ८ का अध्यक्ष खमबहादुर पुनले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले चालु आर्थिक बर्षको प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने गाउँपालिकाका प्रशासन शाखा प्रमुख भगवती खड्का कटुवालले सञ्चालन र पत्रकार घनश्याम खड्काले सहजीकरण गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष पुनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तिलिजा पुनले स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार