२२ वर्षीया रोका मगरको उपचार रोकियो, आर्थिक सहयोग गर्न अपिल

टाउकोको अप्रेसन गर्नुपर्ने ,आइसियुको विरामी सर्जरी वार्डमा

  बलबहादुर रोका मगर

पोखरा । आर्थिक अभाव हुँदा म्याग्दीकी २२ वर्षीया ओमकुमारी रोकामगरको उपचार रोकिएको छ । वैशाख २६ गते म्याग्दीको मालिका  गाउँपालिका- ३,पात्लेमा घाँस काट्ने क्रममा भिरबाट लड्न पुग्दा गम्भिर चोट लागेको रोकामगरको आर्थिक अभाव हुँदा उपचारमा समस्या भएको हो ।२६ गते भिरबाट लडेर गम्भीर घाइते भएकी उनको टाउकोमा चोट लागेको थियो ।

रोकामगरको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि अप्रेसन नै गर्नुपर्ने भएकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । तर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा बेड खाली नभएपछि गण्डकी मेडिकल कलेज ल्याएको ओमकुमारीका श्रीमान विकलले बताए ।उनले आफुले जोहो गरेर ल्याएको २५ हजारमध्ये १२ हजार एम्बुलेन्सलाई दिएको सुनाए ।

बाँकी रहेको पैसाले केही नहुने बताउँदै विकलले भने, ‘हामी त आपतमा परेको देखेर अलिअलि यही बिरामी ल्याउनुभाकाहरुले दिनु भो अब त के गर्नी गर्नी भाछ ।’छोरीको त्यो हालत देखेर ओमकुमारीको आमा चन्द्रकली पुनमगरलाई चैन छैन । छोरीको उपचारका लागि कसरी पैसा जोहो गर्न भन्ने कुराले निकै पिरोलेको चन्द्रकलीले बताइन् । ‘यो अस्पतालमा ल्याएर आइसियुमा भर्ना ग¥यौं । एकदिनकै १४ हजार लाग्ने रहेछ, पैसा नभएपछि एकदिन भन्दा धेरै आइसियुमा राख्न सकेनौं,’ उनले भनिन् ।

गत २७ गते अस्पतालमा भर्ना गरेको बिरामीको उपचारमा आर्थिक अभाव भएपछि एकदिन भन्दा धेरै आइसियुमा राखेर उपचार गर्न नसकेपछि सर्जरी वार्डमा झार्न बाध्य भएको चन्द्रकुमारीले सुनाईन् ।‘आईसियुको बेडको ६ हजार रहेछ, औषधीको ८ हजार लाग्ने रहेछ, साथमा भएको पैसाले एकदिन पुग्यो त्यसपछि अर्को दिनलाई नपुगेपछि सर्जरी वार्डमा राखेको छु, अहिले अस्पतालमा नै भएका बिरामीका आफन्तको सहयोगमा सामान्य उपचार भइरहेको छ,’ उनले भनिन् ।

बिरामी रोका मगरको ८ महिनाको छोरी छ । उनको श्रीमान ज्यालामजदुरी गर्छन् । कतैबाट उपचार खर्च जोहो नभएपछि छोरीको अप्रेसन नहुने चिन्ता छ । ‘ज्वाईको कमाई नै छैन, छोरीको हालत यस्तो छ, पुन मगरले भनिन्, ‘पैसा खोज्न नसकेपछि छोरीको अप्रेसन हुन्नकी भन्ने चिन्ता बढेको छ ।’
आर्थिक सहयोग गर्न अपिल
उपचार गर्न आर्थिक अभाव भएपछि बिरामीकी आमा चन्द्रकलीले सहयोगको अपिल गरेकी छिन् । बिरामी छोरीको टाउकोको अप्रेसन गर्नका लागि रकम अभाव भएपछि आर्थिक सहयोग गर्न आग्रह गरेकी हुन् । उनले ओमकुमारीको उपचारका लागि सहयोग गर्न ९८६४३७६१६१ सम्पर्क गर्न आग्रह गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार