के.वि एकेडेमीमा निःशुल्क दन्त शिविर ः डेढ सय बढी लाभान्वित

  धु्रवसागर शर्मा

दरबाङ । पश्चिम म्याग्दीको प्रमुख व्यापारीक स्थल एवम् मालिका गाउँपालिकाको केन्द्र दरवाङ स्थित के.वि एकेडेमीमा विहीबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरुलाई लक्षित गरेर आयोजना गरिएको उक्त शिविरमा कक्षा ८ देखि १० सम्मका एक सय ५० जना भन्दा बढी विद्यार्थी र अभिभावकहरुले दाँतको उपचार गराएका विद्यालयका प्रिन्सिपल विमल शर्माले जानकारी दिनुभयो ।

दरवाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याव प्रा.लिको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा दन्तरोग विशेषज्ञ डा. चुडमणी सापकोटाले दाँतको समस्या भएका विरामीहरुको उपचार गर्नुका साथै आवश्यक परामर्श दिनुभएको थियो ।सोही अवसरमा पोलिक्लिनिक एण्ड ल्याव प्रा.लिका संचालक द्धय सरोज घर्ती मगर र अभिशेक जि सीले आफूहरुले नाफामुखी भन्दा पनि सेवामुखी भएर पोलिक्लिनिक संचालन गरेको बताउँदै अव सामान्य उपचारका लागि पनि सदरमुकाम वा काठमाण्डौं,पोखरा जस्ता शहरमा जानु पर्ने समस्याको अन्त्य भएकोमा खुसी लागेको बताउनुभयो । शिविरमा १२ जना दन्तरोगीहरुको दाँत निकालिएको थियो ।

शिविर समापनको अवसरमा वोल्दै के.वि एकेडेमीका संचालक÷प्रवन्ध निर्देशक हिराबहादुर पुनले पश्चिम म्याग्दीको केन्द्र दरवाङ बजारमा दुई जना युवाहरुको लगानीमा संचालन भएको पोलिक्लिनिकले यस क्षेत्रका हजारौं जनताहरु लाभान्वित भएको बताउनुभयो । स्वास्थ्य र शिक्षाको क्षेत्रमा पछाडी परेको पश्चिम म्याग्दीमा निजी क्षेत्रबाट संचालित स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुको महत्वपूर्ण योगदान रहेको बताउँदै प्याब्सन म्याग्दीका अध्यक्ष समेत रहनु भएका पुनले आपसी समन्वय गरेर अगाडी बढ्न सके यस क्षेत्रका जनता लाभान्वित हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल बिमल शर्मा, शिक्षक हिराबहादुर सिउथानी,बिमल पुन लगाएतले शिविर अत्यन्त फलदायी रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार