अदिभारामा मोटरेबल पुल बनाउन बजेटको स्रोत सुनिश्चिता

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका–३, र ४ को सिमानामा पर्ने अदिभारामा मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ देखिनै बजेट बिनियोजन गरेर वार्षिक योजना पुस्तिका (रातो किताब)मा समावेश गरेको थियो ।लागत अनुमानको २० प्रतिशत बजेट बिनियोजन र स्रोत सुनिश्चितता नहुँदा प्रदेश सरकारको वार्षिक योजनामा समावेश भएपनि पुल निर्माण अघि बढ्न सकेको थिएन् । वार्षिक योजनामा समावेश हुन थालेको दुई वर्षपछि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अदिभारा सडक पुल निर्माणको प्रक्रीया अघि बढाएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले स्रोत सुनिश्चितता र थप बजेटको व्यवस्थापन भएपछि पुल निर्माणको ठेक्का प्रक्रिया अघि बढाउन लागिएको जानकारी दिनुभयो । “२५ मिटर लामो सडक पुलको डिपिआर तीन वर्षअघिनै बनेको थियो,” उहाँले भन्नुभयो “चालु आर्थिक वर्षमै कुल लागतको २० प्रतिशत पुग्ने गरि थप बजेट व्यवस्थापन र बहुबर्षीय ठेक्काका लागि स्रोत सुनिश्चितता भएको पत्र आएको छ । अब योजना कार्यान्वयनको प्रक्रीया अघि बढाउछौ ।”म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित सांसद रेशम जुग्जालीले भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व सम्हालेपछि उहाँको विशेष पहलमा पुल निर्माणका लागि बजेट व्यवस्थापन भएको बताइएको छ ।

कुल  छ करोड ९ लाख रुपैयाँ लागत अनुमान गरिएको पुल निर्माणका लागि अघिल्लो आर्थिक वर्ष २०७८÷७९ र चालु आर्थिक वर्ष २०७९÷८० मा पचास÷पचास लाख रुपैयाँ बिनियोजन भएको थियो । कुल लागत अनुमानको २० प्रतिशत भन्दा बढी बजेट बिनियोजन र स्रोत सुनिश्चितता भएका आयोजनाको मात्र ठेक्का लगाउन पाउने नीतिगत व्यवस्थाका कारण पुल निर्माणको काम अघि बढ्न सकेको थिएन् ।

चालु आर्थिक वर्षमा सो पुल निर्माणका लागि अपुग  ९१ लाख रुपैयाँ थप बजेट व्यवस्थापन गरेर अर्थ मन्त्रालयले हालै बहुबर्षीय योजनाका लागि स्रोत सुनिश्चितता गरि ठेक्का लगाउन सहमति दिएको हो । अदिभारामा मोटरेबल पुल नहुँदा मालिका गाउँपालिकाको वडा नम्बर २ र ३ नम्बर वडाका बासिन्दालाई पालिकाको केन्द्र दरवाङ आउन जान समस्या भएको थियो ।

बर्खामा बाढी र नदीमा पानीको सतह बढ्दा यातायातको साधन सञ्चालन हुन सकेका थिएन् । मालिका–३, का वडा अध्यक्ष मोतिप्रसाद बुढाले पुल बनेपछि बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सहज हुने बताउनुभयो ।यसैगरी प्रक्रीयामै अल्झिएको बेनी नगरपालिका–४ ,र मंगला गाउँपालिका–३, को सिमाना स्थित अर्चेखोला मोटरेबल पुल र अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग–पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माणका लागि थप चालु आर्थिक वर्षमै थप बजेटको व्यवस्था गरेर ठेक्का आव्हान गर्ने तयारी भएको छ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले प्रदेश स्तरको बजेटको स्रोत सुनिश्चित समितिले दुई वटै योजनालाई स्रोत सुनिश्चितता र थप बजेट व्यवस्था गर्न अर्थमन्त्रालयमा सिफारिस गरिसकेको बताउनुभयो । “योजनामा समावेश भएरपनि स्रोत सुनिश्चितता र २० प्रतिशत बजेट नपुगेका योजनाहरुको संख्या धेरैनै छ,” उहाँले भन्नुभयो “प्रदेशभर यस्ता आयोजना पहिचान गरेर तत्काल कार्यान्वयनमा लैजान पहल गरिएको छ ।”

अर्चेखोलामा २५ मिटर लामो मोटरेबल पुल बनाउन चार करोड ९० लाख रुपैयाँ र १२६ मिटर लामो भुरुङ्ग–पाउद्धार तातोपानी झोलुङ्गे पुल बनाउन  एक करोड ५६ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । चालु आर्थिक वर्षभित्रनै ठेक्का आव्हान गर्न अर्चेखोलाको पुललाई थप  ३० लाख रुपैयाँ र भुरुङ्ग–पाउद्धार तातोपानी झोलुङ्गे पुललाई नौ लाख  रुपैयाँ थप बजेट व्यवस्था गरि क्रमागत योजनामा समावेश गर्न अर्थ मन्त्रालयमा सिफारिस भएको हो । अर्थ मन्त्रालयले सिफारिस स्विकृत गरेपछि ठेक्का प्रक्रीया शुरु गर्ने पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार