गलेश्वरधामलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिकाले प्रशिद्ध धार्मिक स्थल गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने भएको छ । जिल्लाकाे बेनी नगरपालिका- ९, स्थित कालिगण्डकी र रघुगंगा नदीको संगमस्थलमा रहेको गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नगरले समन्वय र पहल गर्ने भएको हो ।गलेश्वर धाम ऐतिहासिक, पर्यटकीय एवं धार्मिक स्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि नगरपालिकाले आवश्यक प्रक्रिया अपनाई समन्वय र पहल गर्ने नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

विश्व सम्पदामा सूचीकृत गर्न नगरले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको नगरप्रमुख केसीले बताउनुभयो । ‘‘गलेश्वर धाम धार्मिक हिसावले महत्वपूर्ण स्थल हो । गलेश्वर पवित्र नदी कालिगण्डकी र रघुगंगाका संगमस्थलमा छ । गलेश्वरलाई मुक्तिनाथ प्रवेशद्धारका रुपमा पनि लिने गरिन्छ । विश्व सम्पदा सूचीमा सूचीकृत गरेर गलेश्वर क्षेत्रको धार्मिक महत्वको प्रचारप्रसार र संरक्षण गर्ने हाम्रो योजना छ’’ नगरप्रमुख केसीले भन्नुभयो ।

गलेश्वर मन्दिर प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको धार्मिक तीर्थस्थल हो । गलेश्वरधाम एउटै चक्रशिलामा अवस्थित छ । १९ औँ शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाई त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रुपमा चिनिँदै जान थालेको भनाई छ ।

बाबु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्नीमा हाम फालेर आत्महत्या गरेकी सतीदेवीको लाशलाई काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर नामाकरण गरिएको स्कन्द पुराणमा उल्लेख छ ।लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटबढ नहुने ढुङ्गामा मूल उम्रेर बनेको बराहा पोखरी, विशाल चट्टानमा जग बिना नै निर्माण गरिएको भगवान शिवजीको मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, १०८ शिवलिङ्ग, साँढेका विशाल मूर्ति, घन्टा यहाँका मुख्य आकर्षण हुन् । पछिल्लो समययता गलेश्वरमा भारतीय धार्मिक पर्यटकहरुको पनि सख्या वृद्धि हुनथालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार