बेनी–जोमसोम–कोरला सडकखण्ड ५ दिनका लागि पूर्णरूपमा बन्द

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडकखण्ड ५ दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कंक्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम शुरू भएकाले सडक बन्द गर्न लागिएको हो ।

सडकमा ढुंगा खस्ने समस्याको स्थायी निराकरणका लागि साउन २८ गते आइतवारदेखि साउन ३२ गते बिहीवारसम्म ५ दिनका लागि सडकखण्ड पूर्णरुपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बैसरीको सडकमा खस्ने पहिरोको स्रोतसम्म डोजर लगेर रोकथामको काम गर्नका लागि सो अवधिका लागि घुमाउने ताल–बेगखोला खण्डमा पूर्णरुपमा यातायात बन्द गर्न लागिएको जानकारी दिनुभयो ।

दैनिकजसो सडक आवागमन अवरुद्ध हुने गरेको र धनजनको समेत क्षति हुने सम्भावना रहेको हुनाले पहिरो शुरू हुने स्थानमा एस्काभेटर पुर्‍याई पहिरो नियन्त्रण गर्नुपर्ने देखिएको तथा पहिरो शुरू हुने स्थानबाटै पहिरो नियन्त्रण गरी समस्याको स्थायी निराकण गर्ने काम भइरहेकाले उक्त सडकखण्ड सो अवधिमा बन्द हुने जारी सूचनामा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले कालीगण्डकी करिडोरको चमेरे–बेगखोला सडकखण्डमा चल्ने हलुका सवारी साधानहरुले सो समयमा चमेरे–राखुरपिप्लेबेगखोला सडकखण्डको वैकल्पिक कच्ची मार्ग प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

‘वैकल्पिक कच्ची मार्ग ‘सिंगल ट्रयाक’को भएको हुँदा बेगखोलाबाट चमेरेतर्फ ९मुस्ताङबाट बेनी आउने हलुका सवारी साधन० आउने र चमेरेबाट बेगखोलातर्फ (बेनीबाट मुस्ताङतर्फ जाने हलुका सवारी साधन)जाने सवारी साधनले आलोपालो गरेर आवातजावत हुने व्यवस्था गरिएकाले स्थानीय सुरक्षाकर्मीको समन्वयमा मात्रै सो वैकल्पिक मार्ग प्रयोग गरिदिनुहुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,’ जारी सूचनामा भनिएको छ ।

बैसरीको पहिरोले गत आइतवारदेखि सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ । बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको ग१ज ६८२० नम्बरको जीप गुडिरहेको अवस्थामा बुधबार साँझ बैसरीमा पहिरो खसेर चालक अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लुकजन शेरपुजा घाइते भएका थिए । पहिरोले पुरेको जीप अझै निकालिएको छैन भने सवारी धनीसमेत रहेका शेरपुञ्जाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रशासन कार्यालयले केही दिनअघि सूचना जारी गरेर बेनी–जोमसोम सडकको पहिरोबाट बढी प्रभावित राहुघाट–भुरुङ तातोपानी खण्डमा रातको समयमा यात्रा नगर्न अनुरोध गरेको थियो ।

‘सडकमा ढुंगा खस्ने समस्याको कारण दैनिकजसो यातायात अवरुद्ध हुनुका साथै सवारी साधन र यात्रुलाई चोटपटक लाग्ने र पुरिने जोखिम छ,’ बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले भने, ‘पहिरो शुरू हुने स्थानबाटै दीर्घकालीन समाधानको काम गर्दैछौं ।’बैसरी खण्डको विकल्पमा जीप, मोटरसाइकल र ट्रयाक्टरलाई घुमाउनेताल–पिप्ले–रानीपौवा–रिसिनचौतारी–माझखर्क–बेगखोला जोड्ने वैकल्पिक सडक एकतर्फीरुपमा प्रयोग गर्ने व्यवस्था मिलाएको प्रशासनले शुक्रवार जारी गरेको सूचनामा उल्लेख छ । कच्ची र साँघुरो वैकल्पिक सडकमा बेगखोलाबाट घुमाउनेतालतर्फ र घुमाउनेतालबाट बेगखोलातर्फ जाने आउने सवारी साधनलाई सुरक्षाकर्मीको समन्वयमा आलोपालो गरेर यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार