संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उहाँलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।

नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेका अनुसार  राती साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइनुभएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सल्लाहपछि उहाँको पार्थिव शरीर घर लैजाने तयारी छ । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।एमाले नेताहरू अहिले शिक्षण अस्पताल पुगेका छन् । सुवास नेम्वाङको जन्म २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा भएको थियो ।

एमाले उपाध्यक्षसमेत रहनुभएका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष हुनुभएको थियो । नेम्वाङले इलामबाट २०५६ सालदेखि निरन्तर संसदीय चुनाव जितिरहनुभयो । उहाँ हाल इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुनुहुन्छ ।

उहाँ कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्यप्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्षसमेत हुनुभयो । ७४ को संसदीय निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट विजयी हुनुभयो । गत पुस १० मा राष्ट्रपतिमा उम्मेदवारी दिनुभएका नेम्वाङलाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पराजित गर्नुभएको थियो ।

कानूनमा स्नातक गर्नुभएका नेम्वाङ केही समय कानून व्यवसायमा सक्रिय हुनुभयो । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिनुभएका नेम्वाङ २०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति बन्नुभयो। २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएका उहाँ तत्कालीन नेकपा मालेमा संगठित हुनुभयो ।

२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेमा नेम्वाङ आवद्ध हुनुभयो । २०५४ को छैटौं महाधिवेशनदेखि उहाँ निरन्तर एमाले केन्द्रीय कमिटीमा हुनुहुन्छ।२०७१ सालमा भएको नवौं महाधिवेशनपछिँ स्थायी कमिटी सदस्य बन्नुभएका उहाँ २०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनमा नेम्वाङ उपाध्यक्ष हुनुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार