लायन्स क्लब अफ बेनी महारानीको रक्तदान कार्यक्रम

  म्याग्दी न्युज संवाददाता

म्याग्दी ।लायन्स क्लब अफ बेनी महारानीको आयोजनामा आज (शनिवार) रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा लायन्स क्लब अफ बेनी महारानीद्वारा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

बेनी अस्पताल म्याग्दीको परिसरमा आयोजित उक्त रक्तदान कार्यक्रममा २५ जना स्वयंसेवी रक्तदाताहरु सहभागी भई रक्तदान गरेका थिए । लायन्स क्लब अफ बेनी महारानीले नियमित रुपमा गर्दै आइरहेको सामाजिक कार्यक्रम अन्तर्गत बेनी अस्पताललाई लक्षित गरेर रक्तदान कार्यक्रमको आयोजना गरेको क्लबले जनाएको छ । रक्तदान कार्यक्रमबाट २५ पिन्ट रगत सङ्कलन भएको छ ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले लायन्स क्लब सधैँ सामाजिक क्षेत्रमा अग्रसर रहेको बताउनुभयो । रक्तदान कार्यक्रम अत्यन्त सराह्रनीय रहेकाले आगामी दिनमा पनि सामाजिक गतिविधिहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ आईको डिस्ट्रिक चिप लोकबहादुर पुन, एओजीद्वय संगीता श्रेष्ठ र खम थापाको विशेष उपस्थिति रहेको थियो ।

पिआरओ रन्जिता भट्टचन र रिजनचियरपर्सन प्रमिला जोशी श्रेष्ठको उपस्थिति रहेको रक्तदान कार्यक्रम लायन्स क्लब अफ बेनी महारानीका अध्यक्ष जुनु उदास श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष चन्द्रा घलेको स्वागत र कार्यक्रम संयोजक सुमित्रा थजालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
सो कार्यक्रममा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले पनि रक्तदान गर्नुभएको थियो । उहाँ यो पटकसँगै अहिलेसम्म म्याग्दी जिल्लामा ७५ पटकसम्म रक्तदान गर्ने व्यक्ति बन्नुभएको छ । सोही कार्यक्रमको अवसरमा रसियन नागरिकले समेत रक्तदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार