मोनाको महाधिवेशनको तयारी पुरा(भिडिओ)

  म्याग्दी न्युज संवाददाता

बेनी। म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको तयारी पुरा भएको छ ।बुधबार पत्रकार सम्मेलन मार्फत मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष अम्मर छन्त्यालले शुक्रबारदेखि म्याग्दी सदरमुकाम बेनीमा हुने महाधिवेशनको व्यवस्थापकीय तयारी पुरा भएको जानकारी गराउनुभएको हो ।

https://fb.watch/nCyU6JuQP2/

मोनाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष छन्त्यालले असोज २६ गते (शुक्रबार) बेनीको खुल्लामञ्चमा आयोजना हुने उद्घाटन समारोहका लागि मञ्च व्यवस्थापन, प्रचार प्रसार, छपाई, अतिथि सत्कार, लगायतका कार्यहरुको तयारी गरिएको बताउनुभयो । अधिवेशनमा सहभागी हुन विभिन्न राष्ट्रिय कार्य समितिका पदाधिकारीहरु प्रतिनिधिको रुपमा बेनी आईपुगेका छन ।प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’महाधिवेशनको उद्घाटन गर्नुहुने भएको छ । महाधिवेशनकै अवसरमा आयोजित प्रथम मोना कप, पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।

विहिबार प्रतियोगिताको पुरुषतर्फको १ सेमिफाईनल सहित फाईनल र महिलातर्फको फाईनल खेल संचालन गरिने भएको छ । असोज २६ गते विहान देखि सुरु हुने बेनी देखि लभ्लिहिल सम्मको मिनी म्याराथुन दौड प्रतियोगिताको नामदर्ता लगायत अन्य व्यवस्थापकीय कार्यहरु पनि अन्तिम चरणमा पुगेको छ ।त्यस्तै अधिवेशनकै अवसरमा जिल्लाको विकासका लागि मोनाले गर्न सक्ने गतिविधिहरुको बारेमा जिल्लाका सरोकारवालाहरु संग छलफल गर्ने कार्यक्रम पनि तय गरिएको मोना अन्तर्राष्ट्रिय महासचिव हरि राम्जालीले बताउनुभयो ।

उद्घाटन समारोह समापन पश्चान २६ गते साँझ म्याग्दी जिल्ला भित्रका राष्ट्रिय स्तरमै ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति, प्रत्यक्ष दोहोरी, जिल्लाको मौलिक लोक संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम संचालन गरिने महासचिव राम्जालीले बताउनुभयो । कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीलाई दिईएको छ ।

पत्रकार सम्मेलनमा मोना अन्तर्र्राष्ट्रियका अध्यक्ष छन्त्यालले अधिवेशन सफल बनाउनका लागि जिल्लाबासीहरुको साथ सहयोग महत्वपूर्ण हुने भन्दै उद्घाटन समारोहमा झाँकी सहित सहभागी हुन जिल्लाका सम्पूर्ण संघ संस्था तथा जातजातीहरुलाई अनुरोध गर्नुभएको छ । सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष तथा अधिवेशन संयोजक ददिवल खड्का, प्रमुख संरक्षक ओमनारायण जुग्जाली, प्रमुख सल्लाहकार मिम पूर्जा, सल्लाहकार विक्रम कार्की, लगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार