बेनी अस्पतालमा जनशक्ति व्यवस्थापन गर्न माग

  म्याग्दी न्युज संवाददाता

बेनी । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खदासँग जनशक्ति व्यवस्थापनका लागि माग गरिएको छ ।अनुगमनका लागि आइतबार बेनी अस्पतालमा आउनुभएकी मन्त्री सिम्खदासँग व्यवस्थापन समिति र अस्पताल प्रशासनले जनशक्ती र पूर्वाधारको समस्या समाधान गरिदिन आग्रह गरेका हुन् ।

क्षमता विस्तार अनुसार दरवन्दि नथपिएको र दरबन्दि अनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको छ । छ वर्षदेखि अस्थायी टहरामा सञ्चालन भएको अस्पतालमा विभिन्न तहका ५९ जनाको दरबन्दि रहेकोमा हाल १७ जना मात्र कार्यरत रहेका अस्पतालका प्रमुख चिकित्सक डा. अञ्जु थापाले बताउनुभयो ।

वि.स. २०७४ देखि शुरु भएको अस्पतालको ५० शैया क्षमताको भवन निर्माणले पूर्णता नपाउँदा अस्थायी टहराबाट सेवा सञ्चालन गरिएको छ । नयाँ भवन निर्माणमा भएको ढिलाईका कारण छरिएका भवनमा काम गर्दा स्वास्थ्यकर्मीहरुलाई कार्यबोभ भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

दैनिक २०० देखि २५० जनाले अन्तरंग विभागबाट सेवा लिने अस्पतालमा चार देखि पाँच जना मात्र चिकित्सक नियमित हुन्छन् । प्रसुतिरोग विशेषज्ञ समेत रहेकी अस्पतालका प्रमुख थापा तालिम, बैठकमा जिल्ला बाहिर जाँदा र विदा बसेको समयमा शल्यक्रिया मार्फत गरिने प्रसुति सेवा लिन आएकालाई बागलुङ र पोखरा पठाउने गरिएको छ ।

पछिल्लो एक वर्षयता मानसीक रोग, जेष्ठ नागरिक, फिजियोथेरापी र अत्याधुनिक एक्सरे सेवा विस्तार गरेको अस्पतालले बिहान ७ देखि साँझ ८ बजेसम्म अतिरिक्त समयमा बहिरंग सेवा दिने तयारी गरेको छ ।

मन्त्री सिम्खडाले प्रदेशभरका स्वास्थ्य संस्थामा देखिएको जनशक्ति अभावको समस्याको दिर्घकालिन समाधानका लागि लोक सेवा आयोग मार्फत पदपुर्तिसँगै अल्पकालिन रुपमा करार जनशक्ति व्यवस्थापन गर्न पहल गरेको बताउनुभयो ।

बेनी अस्पतालको भवन निर्माणलाई पूर्णता दिन सम्बद्ध कार्यालयलाई ताकेत ागर्ने बताउनुभयो । स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खत्री र प्रतिनिधिसभाका पुर्व सदस्य हरिराज अधिकारी पनि अस्पतालको निरिक्षणमा सहभागि हुनुभएको थियो ।

आइतबारनै मुस्ताङको जोमसोममा रहेको अस्पताल, स्वास्थ्य कार्यालय, आयुर्वेद स्वास्थ्य केन्द्र र लेतेको धौलागिरि प्राविधिक शिक्षालयको अनुगमन गरि त्यहाँको गतिबिधि, सेवा प्रवाह र कार्यक्रम कार्यान्वयनको अवस्थाको बारेमा जानकारी लिने र छलफल गर्नुभएको टोलीमा सहभागि मन्त्रीका स्वकीय सचिव सुभद्रा खड्काले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार