समुदायको अगुवाईमा ठडिएको जयन्ती माविको भवन यसरी गरियो उद्घाटन (फोटो फिचर)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली स्थित जयन्ती माध्यमिक विद्यालयको नवनिर्मित २२ कोठे भबनको भब्य समारोहका बिच उद्घाटन गरिएको छ । वि.स. २०७२ सालदेखि जयन्ती माविको विद्यालय भवन पुननिर्माण अभियान सुरु गरेका भकिम्लीबासीकै नेतृत्वमा अहिले दुई तले २२ वटा कोठा रहेको विशाल र व्यवस्थित विद्यालय भवन तयार भएको हो । भवनको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो ।

प्रमुख अतिथि जुग्जालीले बेनी देखि भकिम्ली जोड्ने सडक कालोपत्र गर्ने काम यसै बर्षदेखि शुरु हुने बताउनुभयाे । मन्त्री जुग्जालीले बेनी–भकिम्ली सडक कालोपत्र र स्तरोन्नति गर्न यसै वर्ष बहुबर्षीय ठेक्का लगाउने तयारी भएको बताउनुभयाे। सडक योजनाका लागि चालु आर्थिक वर्ष रु. दुई करोड बजेट बिनियोजन भएको छ । दश करोड बजेटको स्रोत सुनिश्चितता गरेर चालु आर्थिक वर्षदेखिनै बहुबर्षीय ठेक्का लगाउने तयारी गरिएको छ ।


बेनी–भकिम्ली लगायत म्याग्दीका ६ वटा ग्रामिण सडक स्तरोन्नति गर्न यस वर्ष बहुबर्षीय ठेक्का लाग्ने जानकारी दिदै मन्त्री जुग्जालीले शुरु भएको सडक कालोपत्र गर्ने कामलाई निरन्तरता दिने बताउनुभयो । गण्डकी प्रदेश सरकारले ग्रामिण क्षेत्रका सडक स्तरोन्नति गरेर सुरक्षित र सहज यात्रा गर्ने वातावरण बनाउन प्राथमिकता दिएको मन्त्री जुग्जालीले बताउनुभयो । संविधानसभा सदस्य रेशमबहादुर बानियाले म्याग्दीको विकासका लागि अवसरको सदुपयोग गर्नुपर्ने र भित्रिएका बजेट तथा योजनाको कार्यान्वयन गराउनुपर्ने बताउनुभयाे ।

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले म्याग्दीका ग्रामिण सडक स्तरोन्नति, खानेपानी, सिचाई सुविधा विस्तार, शिक्षा, स्वास्थ्यको गुणस्तर सुधार र विद्युत सुविधा विस्तारमा जोड दिएको बताउनुभयाे । विसं २०७२ देखि जयन्ती माविको विद्यालय भवन पुनःनिर्माण अभियान सुरु गरेका भकिम्लीवासीकै नेतृत्वमा अहिले २२ कोठे दुई तले विद्यालय भवन तयार भएको छ ।विद्यालय भवनसँगै प्रवेशद्वार, खेलमैदान र प्याराफिट निर्माणसहित विद्यालयलाई घेरावारसमेत गरिएको छ ।

छरिएर रहेका साना–साना कक्षाकोठा रहेको र जीर्ण बन्दै गएको साविकको जयन्ती माविको अहिले भौतिकस्वरुप फेरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण पुनले बताउनुभयो । साँघुरा र पानी चुहिने अवस्थामा पुगेका कक्षाकोठामा पठनपाठन गराउनुपर्ने बाध्यता विद्यालय पुनःनिर्माणसँगै हटेको छ ।गाउँका बालबालिकाले सुविधासम्पन्न र भौतिक पूर्वाधारयुक्त भवनमा बसेर सहजरुपमा पठनपाठन गर्ने अवसर पाएका छन् । विद्यालय भवनका लागि सरकारी निकाय धाउँदा थाकेका स्थानीयवासीले प्रवासीको दरिलो साथ पाएपछि आफ्नै बलबुतामा विद्यालयको भवन ठडाउने साहस गरेका थिए ।


विद्यालय भवन पुनःनिर्माण गर्न स्थानीयवासीले पनि उत्साहजनकरुपमै जनश्रमदानदेखि नगद सहयोग जुटाएका थिए । प्रवासीले पसिना बेचेको रकम सहयोग गर्दा गाउँलेले घरको अन्नपात र गाईभैँसी बेचेर विद्यालयलाई सहयोग गरेको वडा अध्यक्ष पदम पुनले बताउनुभयाे ।
भवन बनाउने अभियानमा नगद रु पाँच सयदेखि रु १० लाखसम्म व्यक्तिगत सहयोग गरेको विद्यालयले जनाएको छ । कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा अहिले एक सय ७६ विद्यार्थी अध्ययनरत छन् । यो सुविधासम्पन्न भवनमा कक्षाकोठा भवनसहित कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी, कार्यालय र स्टाफ कक्षलगायत विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधि सञ्चालन हुन थालेको छ ।
अमेरिका, हङकङ, स्पेन, साउदी अरेबीया, जापानलगायत मुलुकमा रहेका भकिम्लीबासीको अगुवाइमा सङ्कलन भएको सहयोग रकममा सयौँ जनाले हातेमालो गरेका छन् । हिमालयन प्रोजेक्ट बेल्जियम र नेपाल सरकारका विभिन्न निकायले समेत पुनःनिर्माण अभियानमा बजेट उपलब्ध गराएका छन् ।


विद्यालय भवन पुनःनिर्माणमा करिब रु तीन करोड ५० लाख खर्च भए पनि अहिलेसम्म चन्दादाता, सहयोगदाता, सङ्घ संस्था र सरकारी तवरबाट रु तीन करोड २३ लाख ५५ हजार मात्रै सहयोग जुटेको विद्यालयले जनाएको छ । कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने, पुननिर्माण समितिका अभियान्ता लोक राना, वडा अध्यक्ष पदम बहादुर पुन, बेनी नगरपालिकाका कार्यपालिका सदस्य मनकुमारी विक, हिमालयन प्रोजेक्टका पावल मान्द्रे भुर्टेल, मोनाका कोषाध्यक्ष नरेन्द्र फगामी, पूर्व सल्लाहकार मिम पुर्जा, पत्रकार हरिकृष्ण गौतम लगायतले मन्तव्य राख्नुभएको थियो भने ।

कार्यक्रममा सहयोगदाता र पुननिर्माणमा विशिष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण पुनको अध्यक्षता, शिक्षक अभिभावक संघका अध्यक्ष रत्न जिसीको स्वागत र प्रअ भोजबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा विविध नृत्य र पुख्यौली प्रस्तुती समेत राखिएको थियो । २०४५ सालमा बनाईएका साँघुरा भवनहरुमा टिनको छानो चुहिने र पर्खाल भत्कने अवस्थामा पुगेको थियो । त्यही भवनमा पढ्दै गरेका एक विद्यार्थीका ज्यान समेत गएको थियो । वि.स. २०१६ साल पौष १६ गते सत्यमान पुनको नेतृत्वमा गाउँमा यस विद्यालयको थालनी भएको इतिहास छ । वि.स. २०१७ सालमा कक्षा १ सञ्चालन गर्ने अनुमति प्राप्त गरेको यस विद्यालयले आजसम्म आईपुग्दा समयको यो खालखण्डमा धेरै आरोह अवरोध, विविध समस्या र चुनौतिलाई सामाना गर्दै अघि बढेको देखिन्छ ।


तत्कालिन समयमा भकिम्लीको रानीपधेरामा अवस्थित यस विद्यालयलाई स्वर्गीय नारायण देवी रोकाले १ रोपनी जग्गा विद्यालयलाई उपलब्ध गराएपछि हालको स्थानमा स्थानान्तरण गरिएको थियो । वि.स. २०२८ सालमा प्राविबाट निमावि तहमा स्तरउन्नती भएको यो विद्यालयमा वि.स. २०५१ सालमा महायज्ञ सञ्चालन गरेर विद्यालयलाई माध्यमिक तहमा स्तरबृद्धि गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार