सरस्वती मावि तातोपानीमा सप्ताहव्यापी खेलकुद कार्यक्रम सकियो

  म्याग्दी न्युज संवाददाता

म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित सरस्वती माध्यमिक विद्यालय तातोपानीमा सप्ताहव्यापी विविध खेलकुद कार्यक्रम सकिएको छ । गत २१ गतेदेखि सुरु भएको सप्ताहव्यापी विविध खेलकुद कार्यक्रमहरुको आइतबार एक समारोहबीच पुरस्कार वितरण गरी समापन गरिएको हो ।

सप्ताहव्यापी खेलकुद कार्यक्रमअन्तर्गत विद्यालयको आयोजनामा विद्यार्थीहरुबीच १ सय तथा ४ सय मिटर दौड, बेलुन फुटाउने, लुँडो, स्किपिङ, म्युजिकल चियर, तातो आलु, चेस, लङजम्प, फुटबल, हाईजम्प, हस्तलिखित, चित्रकला र डान्स प्रतियोगिता, छेलो, खो–खो, भलिबल तथा लठो तान्ने र १५ सय मिटरको दौड प्रतियोगितालगायत विविध खेलकुदजन्य कार्यक्रमहरु सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

त्यस्तै आइतबार सम्पन्न विद्यालयको सदनस्तरीय लठो तान्ने प्रतियोगितामा छात्रतर्फ निलो सदन र छात्रातर्फ हरियो सदन विजयी भएको छ भने नृत्य प्रतियोगितामा ११ जना सहभागीमध्ये सुमिना किसान प्रथम भई स्टेशनरी र प्रमाणपत्रले पुरस्कृत गरिएको विद्यालयका शिक्षक गणेश खत्रीले जानकारी दिनुभयो । खेलकुदको विभिन्न विधाअन्तर्गत प्रतियोगिताहरुमा सहभागी भई उत्कृष्ट हुने प्रतियोगी विद्यार्थीहरुलाई विद्यालयको तर्फदेखि अबिरको टिका लगाएर स्टेशनरी र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

सप्ताहव्यापी खेलकुद कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै बेनपा–४, सिङ्गाका वडा सदस्य प्रेमबहादुर श्रीषले राज्यको ठूलो लगानी रहेको सामुदायिक विद्यालयलाई अभिभावकहरुले आवश्यक समय दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि राज्यले प्रयास गरिरहेको बताउँदै सरकारले ल्याएको योजनालाई विद्यालयका सरोकारवाला सबैले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सरस्वती मावि तातोपानीलाई अहिलेको अवस्थामा ल्याई पु¥याउन स्थानीयवासीहरुले ठूलो मेहनत गरेको उहाँको भनाइ छ ।

सोही कार्यक्रमको अवसरमा विद्यालयका कम्प्युटर शिक्षक महेश राना र तातोपानी प्रहरीचौकीलाई विद्यालयबाट सम्मानपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका वरिष्ठ सल्लाहकार मिनबहादुर बानियाँ, विद्यालय व्यवस्थापन समितिका सदस्य अर्जुृन शाही, म्याग्दीका क्रियाशील पत्रकार प्रताप बानियाँ र विद्यालयका प्रधानाध्यापक सुरत बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष दधिलाल अधिकारीको अध्यक्षता र शिक्षक रामप्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार