राम–विमला फाउण्डेशन जिल्ला स्तरीय अन्तर मावि जेसीजकप फुटबल प्रतियोगिता हुँदै

  म्याग्दी न्युज संवाददाता

म्याग्दी। म्याग्दी जेसीजको आयोजनामा आगामी मंसिर १९ गतेदेखि २२ गते सम्म २१ औं जिल्ला स्तरीय अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । सोमबार पत्रकार सम्मेलन मार्फत उक्त प्रतियोगिताको लोगो र टाइटल प्रायोजक सार्वजनिक गरिएको छ ।परोपकारी संस्था राम–विमला फाउण्डेशनले प्रतियोगिताको टाइटल प्रायोजक गरेको शाखा अध्यक्ष सुमन बानियाँले जानकारी दिनुभयो । गण्डकी प्रदेश सांसद विमल गौचन अध्यक्ष रहेको उक्त फाउण्डेशनले सामाजिक क्षेत्रमा सेवा गर्दै आएको छ ।

प्रतियोगितालाई राम–विमला फाउण्डेशन जिल्ला स्तरीय अन्तर मावि जेसीजकप फुटवल प्रतियोगिताको रुपमा संचालन गरिने अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।प्रतियोगितालाई सफल बनाउन कार्यकारिणी उपाध्यक्ष विनोद घर्तीको मूल संयोजकमा १७ वटा उपसमिति गठन गरेर तयारी अगाडी बढाईएको अध्यक्ष बानियाँले बताउनुभयो ।

प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २२२ रुपैयाँ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद ३२ हजार २३२ रुपैयाँ पुरस्कार प्रदान गरिने मुल संयोजक घर्तीले बताउनुभयो ।उहाँका अनुसार, उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई विभिन्न अवार्डसहित दुई हजार ५०० रुपैयाँ नगद पुरुस्कारले पुरस्कृत गरिने जानकारी दिनुभयो ।

विद्यालय तहमा हुने जिल्ला स्तरीय फुटवल प्रतियोगितालाई सफल बनाउन सबैले सहयोग गरिदिनुहुन अध्यक्ष बानियाँले आग्रह गर्नुभएको छ। अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । प्रतियोगिताको सह– प्रायोजकमा मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार