शिवालय माविका विद्यार्थीलाई विदेशी नागरिकको सहयोग

  म्याग्दी न्युज संवाददाता

पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविका विद्यार्थीलाई विदेशी नागरिकले बिहिबार शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन् ।

स्थानीय समाजसेवी तथा विद्यालयका पूर्व विद्यार्थी कमलकृष्ण ओझाको विशेष पहलमा सिङ्गापुरका नागरिकले विद्यालयका लागि शैक्षिक सामग्रीसहित विद्यार्थीका लागि स्टेसनरी वितरण गरेका हुन् । माइकल हु, एमएस अमान्डा टान, हु स्विट फार, वाइकाम हुवा, लिम, एमएस सुनिता शिवनन्थन, वि चुङलगायतले विद्यालयलाई सहयोग गरेका हुन् । उनीहरूले सिङ्गापुरकै विद्यालय बुकिट भ्यु विद्यालयले तयार पारेको शैक्षिक सामग्री पनि विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझालाई हस्तान्तरण गरेका थिए । उनीहरूले करिब १ लाख ५० हजार रुपियाँबराबरको सामग्री विद्यालयलाई हस्तान्तरण गरे ।

माइकल हुले गत वर्ष पनि विद्यार्थीहरूका लागि शैक्षिक सामग्री उपलबध गराएका थिए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाको अध्यक्षतामा भएको सहयोगी विदेशी नागरिकहरूको सम्मानमा आयोजित कार्यक्रममा रूपा गाउँपालिका, वडा नं. २ का वडा अध्यक्ष राजन सुवेदीले केही समयअघि आफूले भ्रमण गरेको सिङ्गापुरको विकासको मोडलबाट सिकेर स्मार्ट भिलेजको अवधारणाअनुसार वडा नम्बर २ लाई विकास गर्ने कार्यमा अघि बढेको जानकारी दिए । शिक्षालाई प्राथमिकतामा राख्दै वडावासीको सुविधालाई ध्यानमा राखेर कार्य गरिरहेको सुवेदीको भनाइ थियो ।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले सरकारी निकायहरूको सहयोगमा विद्यालयलाई प्रविधिमैत्री बनाइएको जानकारी दिँदै गैरसरकारी संस्था र व्यक्तिको सहयोगमा थप विकास गरिएको बताए । विद्यार्थीको हितका लागि सहयोगले लिएर आउने जुनसुकै संस्था वा व्यक्तिलाई पनि विद्यालयले सधैँ उच्च सम्मान गरेको उनको भनाइ थियो ।

कार्यक्रमको संयोजन गरेका पूर्व विद्यार्थी कमलकृष्ण ओझाले आफू पढेको विद्यालयमा विदेशी नागरिकहरूलाई ल्याएर सहयोग गर्न पाउँदा निकै हर्ष लागेको भन्दै आगामी दिनमा पनि थप सहयोगको पहल गर्ने प्रतिबद्धता जनाए ।

सहयोगीहरूका तर्फबाट माइक हुले आफू विद्यालयका गतिविधिबाट निकै प्रभावित भएको बताए । उनले गत वर्ष पनि आफू आउने प्रयास गरे पनि कोभिडका कारण उपस्थित हुन नसके पनि सामग्री पठाएको स्मरण गर्दै आगामी दिनमा पनि सहयोग गर्ने बताए ।
अङ्ग्रेजी विभागका प्रमुख बुद्धिराम विश्वकर्माको सञ्चालन तथा कक्षा १० की छात्रा कुसुम सुवेदीको स्वागतमा भएको कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार