प्रदेश प्रमुख शेरचनका दश दाजुभाईद्धारा विद्यालयलाई निशुल्क जग्गादान

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका -४,स्थितओखरबोट माविलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनका दश दाजुभाईले करिब दश रोपनी जग्गा दान गर्नुभएको छ । शेरचनका दश दाजुभाईले बुधबार एक कार्यक्रमका विच ओखरबोट माविलाई नौ रोपनी तीन आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा दान गर्नुभएको हो ।ओखरबोट गाउँ दश दाजुभाईको जन्मथलो समेत हो ।

ओखरबोट माविका प्रअ नविन कार्कीका अनुसार , नेपाल सरकारको मापदण्ड अनुसार ४४ लाख ७७ हजार रुपैयाँ मूल्य कायम भएको जग्गा निशूल्क उपलब्ध गराउनुभएकाे हाे । शेरचन परिवारले मंगलबार मालपोत कार्यालय म्याग्दीबाट औपचारिक रुपमा विद्यालयलाई जग्गा प्रदान  गर्नुभयो । थप तीन लाख ३५ हजार ७७७ राजस्व र  पाँच हजार लेखापढी व्यवसायीको शूल्क पनि आफैले ब्योहोर्नुभएको छ ।

हाल विद्यालय रहेको ठाउँ पहिरोको जोखिममा परेपछि स्थानान्तरणका लागि शेरचन परिवारले जग्गा दान गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक पुनले बताउनुभयो । विद्यालयका संस्थापक स्व. उमादेवी शेरचनका श्रीमान बडीबहादुर शेरचनका छोरा, छोरी तथा बुहारीहरुले सो जग्गा दान गर्नुभएको हो । ‘‘जमिन ढाचा फाटेपछि विद्यालय  जोखिममा परेको थियो । प्रदेश प्रमुख ज्युको दाजुभाईले निशुल्क जग्गा उपलब्ध गराउनुभएकाे छ ।अब स्थानीय,प्रदेश ,संघीय सरकार र सहयोगदातालाई सहयोग मागेर र बजेट माग गरेर विद्यालय स्थानान्तरणको प्रक्रिया थाल्नेछौं ,’’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनले भन्नुभयो ।

जग्गा दान गर्नेहरुमा धनबहादुर÷उषा शेरचन, स्व. ताराकुमार शेरचनकी श्रीमति जयाकुमारी शेरचन, अमिक शेरचन÷शान्ति शेरचन, चित्रलाल शेरचन÷तेजकुमारी शेरचन, खगेन्द्र शेरचन÷मिना शेरचन, प्रान्ती शेरचन÷विश्वप्रभा शेरचन, काजु शेरचन÷धनकुमारी शेरचन, दिपेन्द्र शेरचन÷फुलमाया (घर्ति) शेरचन, नवरत्न शेरचन÷मिना शेरचन, गुप्तमा (दशरथ)शेरचन÷नन्दकुमारी शेरचन र छोरी दर्पण (शेरचन) गौचन रहनुभएको छ ।अभिनन्दन कार्यक्रममा प्रदेश प्रमुख शेरचनले विद्यालय स्थानान्तरण गर्नका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । वि.स. २००८ मा स्थापना भएको यस विद्यालयमा २११ जना विद्यार्थी छन् । कक्षा १० सम्मको पठनपाठन हुने गरेको छ । जग्गा दाता शेरचन परिवारको पुख्यौली थलो ओखरबोट हो । उहाँहरु हाल देशका विभिन्न ठाउँमा पेशा, व्यवसाय र सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहन्छ । त्यसैगरी गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले जग्गादाता शेरचरनका परिवारलाई धन्यवाद व्यक्त गर्नुहुँदै विद्यालय स्थानान्तरणको लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने र माथिल्लो निकायमा थपबजेट विनियोजनको लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार