बिममा दुई जनाको हत्या

  साधन राम्जाली

बेनी । म्याग्दीको मालिका गाउँपालिका–७,बिम स्थित दिबोटमा दुई जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ,शनिबार विहान करिब सात बजेको समयमा सोही वडाको वाइन्दफाँटका टेकप्रसाद रोका (झाँक्री)ले अन्धाधुन्ध ढुंगा र दाउरा प्रहार गर्दा अन्दाजी ८० वर्षिया मनसाङ्ग गर्बुजाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ वर्षीया नातिनी प्रियंका गर्बुजाको उपचारको क्रममा पोखरा स्थित मणिपाल अस्पतालमा चार बजेको समयमा मृत्यु भएको छ ।भने नौरुङकी ६६ वर्षिया अमृता जुग्जालीको उपचार भइरहेको छ ।

‘हत्यामा संलग्न अभियुक्तलाई निन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाइएको छ,’ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक मदन कुँवरले भन्नुभयो । घटनाबारे सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतबार पत्रकार सम्मेलनको तयारी गरेको छ । गम्भीर घाइते बर्षिया अमृता जुग्जाली र प्रियंकालाई हेलिकप्टरबाट थप उपचारका लागि मणिपाल अस्पतालमा लगिएको थियो ।

इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीको टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बेनीमा ल्याइएको छ । जुग्जाली र गर्बुजालाई दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरि हेलिकप्टरबाट पोखरा लगिएको थियो । बज्यैलाई सडकमा रगताम्मे देखेपछि बचाउन जानुभएकी प्रियंकाको टाउकोमा छपनी प्रहार भएको थियो । प्रियंकाका भाई प्रिन्स भने घरको खाटमुनी लुकेर ज्यान बचाउनुभएको थियो ।

मृतक मसाङका छोरा र बुहारी खेतमा काम गर्न गएका समयमा घटना भएको थियो । जंगलमा घाँस काट्दै गर्नुभएकी अमृतालाई चिर्पट प्रहार भएको थियो । बिम तल्लो गाउँ नजिकै एक वटा ट्याक्सी पनि तोडफोड भएको स्थानीयले बताएका छन् । वडा अध्यक्ष टकबहादुर पुनले अकल्पनिय र अप्रिय घटना घटेको भन्दै दुःख व्यक्त गर्नुभयो । ४९ वर्षिय टेकप्रसाद परिवारबाट अलग भएर एक्लै बस्ने गरेको स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार