केवि एकेडेमी र दरबाङ पोलिक्लिनिक बिच स्वास्थ्योपचार सम्झौता

  म्याग्दी न्युज संवाददाता

दरबाङ । पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमी र दरबाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याव प्रालि बिच विद्यार्थी,अभिभावक र शिक्षक कर्मचारीहरुको स्वास्थ्योपचारमा विशेष छुटका लागि आइतबार लिखित सम्झौता भएको छ ।

सात बुँदे उक्त सम्झौता पत्रमा विद्यालयको तर्फबाट संचालक÷निर्देशक हिराबहादुर पुन र प्रिन्सिपल बिमल शर्मा तथा पोलिक्लिनिकको तर्फबाट संचालक द्धय अभिषेक जिसी र सरोज घर्ती मगरले हस्ताक्षर गरी एकापसमा हस्तान्तरण गर्नुभएको हो ।

सम्झौता अनुसार पोलिक्निकले विद्यालयका विद्यार्थी,अभिभावक र शिक्षक÷कर्मचारीहरुको निशुल्क दन्त परीक्षण, एक्सरे,भिडियो एक्सरे,ल्याव,इर्मेजेन्सी लगाएतका सेवाहरुमा ३० प्रतिशत छुट दिने भएको छ । त्यसैगरी पोलिक्लिनिकबाट प्रवाह गरिने अन्य सेवाहरुमा पनि अवस्था हेरीकन छुट दिन सकिने उल्लेख गरिएको छ ।
पोलिक्निकबाट यी सेवाहरु केवि एकेडेमीमा पढ्ने विद्यार्थी, उनका अभिभावक र शिक्षक÷कर्मचारीहरुलाई मात्र विशेष छुटका साथ प्रदान गरिने भएकोले विद्यार्थी र शिक्षक कर्मचारीको हकमा विद्यालयको परिचय पत्र र अभिभावकको हकमा विद्यालयले दिने अभिभावक कार्ड अनिवार्य हुनुपर्ने पोलिक्लिनिक एण्ड प्याथ ल्याव प्रालिका संचालक अभिषेक जिसीले बताउनुभयो ।

पोलिक्लिनिकले सामाजिक उत्तरदायित्व अन्तरगत विद्यार्थी र अभिभावकहरुलाई विशेष छुटका साथ स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गर्न लागेको संचालक जिसीको भनाइ छ ।
यसैगरी विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरुलाई बढी आर्थिक भार नपरोस् भन्ने उद्धेश्यले विद्यालयले पोलिक्लिनिकसँग सम्झौता गरेर विद्यार्थी र अभिभावकको स्वास्थ्योपचारमा सहयोगी भूमिका निर्वाहा गरेको विद्यालयका संचालक÷ निर्देशक हिराबहादुर पुनले बताउनुभयो ।

पुनका अनुसार निकट भविष्यमा अभिभावकहरुको सुविधालाई मध्यनजर गर्दै यातायात व्यवसायीहरुसँग पनि विद्यालयका अभिभावक र विद्यार्थीहरुलाई भाडा छुटको व्यवस्था विद्यालयले गर्न लागेको छ । केवि एकेडेमीमा अध्ययनरत विद्यार्थी र उनीहरुका अभिभावकहरु बेनी र पोखरासम्म सम्झौता गरिएको यातायात व्यवसायीको यातायातका साधन (बस) मा जाने वा आउने क्रममा व्यवसायीले भाडामा छुट दिने विषयमा कुरा भइरहेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी स्टेशनरी सामाग्रीहरुमा पनि छुटको व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

विद्यालयका प्रिन्सिपल बिमल शर्माले विद्यालयले गुणस्तरीय शिक्षा,अतिरिक्त क्रियाकलाप,चरित्र निर्माण,खेलकुददेखि लिएर विद्यार्थी तथा अभिभावकको स्वास्थ्य र यातायातमा समेत विशेष कार्यक्रमहरु ल्याउन लागेको र यही फागुन २ गते सरस्वती पूजाका दिनदेखि अभिभावक र विद्यार्थीहरुले धेरै कुराहरुमा राहत महशुस गर्न पाउने गरी कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।
त्यसैगरी विद्यालयले फागुन २ गते परेको सरस्वती पूजा पनि यस वर्ष विशेषरुपले आयोजना गर्ने निर्णय गरेको प्रिन्सिपल शर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार