मौवाफाँटमा शैक्षिक सामग्री प्रदर्शनी मेला(तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी मेला सम्पन्न भएको छ । सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुले तयार पारेका शैक्षिक सामग्रीहरुको प्रदर्शन गरी सिकाई आदान–प्रदान गर्ने उद्देश्यले मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयको परिसरमा एकिदिने शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना गरिएको हो ।
रघुगंगा गाउँपालिका र समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न) संस्थाको संयुक्त आयोजनामा गरिएको शैक्षिक प्रदर्शनी मेलामा गाउँपालिकाको राखु कलस्टर क्षेत्रमा पर्ने एक देखि ४ नम्बर वडाका आधारभुत र माध्यमिक तह गरेर १५ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

प्रदर्शनी मेलामा विद्यार्थी र शिक्षकहरुले सामुहिक रुपमा बनाएका शैक्षिक सामग्रीहरु अवलोकनका लागि राखिएको थियो । शिक्षक, विद्यार्थी र अभिभावकहरुको अन्तरनिहित प्रतिभा पहिचान,सिकाई आदान–प्रदान र प्रचार प्रसार गर्ने उद्देश्यले शैक्षिक प्रदर्शनी मेलाको आयोजना गरिएको लर्नका कार्यक्रम विशेषज्ञ तोयाप्रसाद अम्गाडेले जानकारी दिनुभयो । मेलामा उत्कृष्ट सामग्री प्रदर्शन गर्ने विद्यालयहरुलाई नगद सहित पुरस्कृत गरिएको छ ।

प्रदर्शनीमा माध्यमिक विद्यालय तर्फ ज्ञानोदय मावि मौवाफाँट प्रथम,महादेव मावि बेग द्धितीय र कालिका मावि तिप्ल्याङ तृतीय स्थान हासिल गरेका छन् । माध्यमिक तर्फ प्रथम हुनेले १२ हजार पाँचसय, द्धितीय हुनेले दश हजार र तृतीय हुनेले सात हजार पाँचसय रुपियाँ नगद प्राप्त गरेका छन् ।यसैगरी आधारभुत विद्यालय तर्फ प्रथम बेगको पार्वती आधारभुत विद्यालय, द्धितीय बाँदुकको कृष्ण आ.वि र तृतीय दर्मिजाको शिव आ.वि भएका छन् । आधारभुत तर्फ प्रथम,द्धितीय र तृतीय हुने विद्यालयलाई क्रमशः नगद रु दश हजार,सातहजार पाँचसय र पाँचहजार रुपियाँ पुरस्कार प्रदान गरिएको लर्नका कार्यक्रम विशेषज्ञ अम्गाडेले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी,उपाध्यक्ष प्रेमकुमारी पुन,पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, लर्नका कार्यकारी निर्देशक कृष्णबहादुर तिलिजा लगायतले उत्कृष्ट विद्यालयहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।शैक्षिक सामग्री प्रदर्शनी मेलाले विद्यार्थीहरुको शैक्षिक स्तरका साथै विद्यार्थीहरुको वौद्धिक स्तरमा वृद्धि हुने पालिकाका अध्यक्ष भण्डारीले विश्वास व्यक्त गर्नुभयो । मेलाले विद्यार्थी, अभिभावक तथा शिक्षकहरुमा भएका फरक फरक प्रकारका क्षमता पहिचान गरेर सीप साझेदार गर्नका लागि पनि प्रदर्शनी मेला उपयोगी भएको उहाँले बताउनुभयो ।

गाउँपालिका भित्रको राँखु कलस्टरमा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँपालिकाले लर्न सँगको साझेदारीमा विगत तीनवर्ष देखि यता विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।शिक्षक,अभिभावक र विद्यार्थी गरेर करिब पाँचसय जनाले शैक्षिक मेलाको अवलोकन गरेको लर्नका अम्गाडेले जानकारी दिनुभयो ।

विद्यार्थीमा पढाइप्रति रुचि र सिकाइ उपलब्धि बढाउन शैक्षिक सामग्रीको प्रदर्शनी मेला उपयोगी भएको उहाँले बताउनुभयो । मेलामा विद्यार्थीहरुले बनाएका विभिन्न विभिन्न विषयसँग सम्बन्धित चार्ट, चित्र, तथ्याङ्क, बाक्यहरु,सामाजिक विषय सँग सम्बन्धित चित्रहरु,विज्ञान विषय सँग सम्बन्धित सामग्रीहरु र कृषि सँग सम्बन्धित परम्परागत सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।लर्नका कार्यकारी निर्देशक तिलिजाको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रमको संचालन ज्ञानोदय माविका शिक्षक अर्जुन पौडेलले गर्नुभएको थियो । कार्यक्रममा वडाध्यक्षहरु,जनप्रतिनिधि,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायत शिक्षक, अभिभावकहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार