मनकारी मन : चौरासी पुजामा ओखरबोट माविलाई दुई लाख सहयोग (फोटो फिचर)

च्युरीबोट ।म्याग्दीको मालिका गाउँपालिका–४,स्थित छाप्सीबाङ घर भई हाल पोखरा निवासी समाजसेवी दलबहादुर घर्ती मगर पुन र उहाँकी श्रीमती भानुदेबी दम्पती परिवारले चौरासी पुजाको अवसरमा सोही वडाको ओखरबोट माविलाई आर्थिक सहयोग गर्नुभएको छ । दलबहादुर दम्पती परिवारले चौरासी पुजाको अवसरमा विद्यालयलाई दुई लाख एक सय ५३ रुपैयाँ सहयोग गर्नुभएको हो । सो रकम सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच दलबहादुर दम्पती, माइला छोरा राजेन्द्र र कान्छी बुहारी ज्ञानु लगायत परिवार सदस्यले वडा सदस्य भिमसरा पुनको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक पुन ,प्रअ नविन कार्की लगायतलाई सामुहिक रुपमा हस्तान्तरण गर्नुभयो ।

विद्यालयका प्रअ कार्कीका अनुसार,विद्यालयमा अक्षयकोष स्थापनाका लागि दलबहादुर दम्पती परिवारले एक लाख ,हाल अष्ट्रेलियामा रहनुभएका माइला छोराबुहारी राजेन्द्र घर्ती मगर पुन र सानु आले मगरले पचास हजार ५१ रुपैयाँ र कान्छा छोराबुहारी धावेन्द्र घर्ती मगर पुन र ज्ञानु घर्ती मगर पुनले पचास हजार ५१ रुपैयाँ गरी दुई लाख एक सय ५३ रुपैयाँ सहयोग गर्नुभएको हो । चौरासी पुजाको अवसरमा दलबहादुर दम्पती परिवारले आइतबार सोही वडाको च्युरीबोट स्थित सिद्धार्थ माविलाई पनि ६ लाख दश हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

याे पनि‍‍‍…

चौरासी पुजामा सिद्धार्थ माविलाई ६ लाख दश हजार सहयोग (फोटो फिचर)

 

बेलायती सेनाबाट अवकाश प्राप्त पुर्व गोर्खा सैनिक दलबहादुरले विद्यालयको भौतिक र शैक्षिक विकास सँगै गरिब,दलित र जेहेन्दार विद्यार्थीको अध्ययनमा सहयोग पु¥याउने उद्धेश्यले आर्थिक सहयोग गरेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिमा आवद्ध रहेर यसअघि लामो समयसम्म काम गरिसक्नुभएको छ । पहिले विद्यालयमा आर्थिक समस्या हुँदा आफुहरुले विद्यालय सञ्चालनको लागि ठुलो संघर्ष गर्नुपरेको अनुभव सुनाउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक र भौतिक विकासका लागि राज्य सँगै समुदायको समेत जिम्मेवारी रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनले चौरासी पुजाको अवसरमा दलबहादुर दम्पतीले शैक्षिक क्षेत्रमा आर्थिक सहयोग गरेर उदाहरणीय,पुण्य र सबैका लागि प्रेरणादायी काम गरेको भन्दै धन्यवाद दिनुभयो । उहाँले आर्थिक सहयोग रकमको अक्षयकोष स्थापना गरेर उक्त अक्षयकोषको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ती ,शैक्षिक सामग्री सहयोग र विद्यालयको विभिन्न कार्यक्रममा खर्च गरिने जानकारी गराउनुभयो । विद्यालयको पुरानो भवन जिर्ण भएकोले नयाँ भवन निर्माणमा सहयोग गर्न अपिल समेत गर्नुभयो । वि.सं.२००८ सालमा स्थापित विद्यालयमा कक्षा दश सम्म पढाई हुँदै आएको छ । करिब दुई सय १६ जना विद्यार्थी अध्ययनरत छन् । प्रअ कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक नविन पुनले स्वागत मन्तव्य राख्नुभएको थियो । यसैगरी विद्यालयका सल्लाहकार हिराबहादुर पुनले बोल्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । विद्यालयले सहयोगदाता दलबहादुर दम्पती परिवारलाई सम्मान समेत गरेको थियो । घर्ती मगर पुन दम्पतिले धार्मिक विधि अनुसार चौरासी पुजा गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार