धार्मिक क्षेत्र जगन्नाथमा म्याग्दी जेसीजको पर्यटन प्रवद्र्धन कार्यक्रम

  म्याग्दी न्युज संवाददाता

बेनी ।म्याग्दी जेसीजको आयोजनामा आज (शनिवार) म्याग्दीको धार्मिक क्षेत्र जगन्नाथधाममा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित रहेको ऐतिहासिक जगन्नाथ मन्दिर परिसरमा पर्यटन बोर्ड स्थापना गरिएको हो ।

म्याग्दी जेसीजको आयोजना, वडा कार्यालय पुलाचौर र जगन्नाथ मन्दिर व्यवस्थापन समितिसँगको समन्वय तथा सहकार्यमा जगन्नाथ क्षेत्रमा पर्यटकहरुको आगमन बढाउने उद्देश्यसहित पर्यटन पवद्र्धन कार्यक्रम गरिएको म्याग्दी जेसीजले जनाएको छ । म्याग्दी जेसीजको लोगो अङ्कित उक्त बोर्डमा ‘द हेरिटेज जगन्नाथ’ लेखिएको पर्यटकीय बोर्ड जगन्नाथ मन्दिर अगाडि गाडिएको छ ।

समुन्द्री सतहदेखि दुई हजार मिटरको उचाइमा अवस्थित जगन्नाथ मन्दिरलाई पृष्ठभूमीमा पारेर फोटो र भिडियो लिने गरी पर्यटकहरुलाई लक्षित गरेर बोर्ड जडान गरिएको हो । पर्यटकीय बोर्डको अनावरण गर्दै बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले म्याग्दी जेसीजले धार्मिक क्षेत्र जगन्नाथमा जडान गरेको पर्यटकलक्षित बोर्डले नगर क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले बेनी नगरपालिकाभित्र रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रहरुको विकास र प्रवद्र्धनमा आवश्यक पहल थालिएको जानकारी दिनुभयो ।

धौलागिरि पर्यटन परिषद म्याग्दीका अध्यक्ष अमर बानियाँले म्याग्दी जेसीजले व्यक्तित्व र नेतृत्व विकास सँगसँगै पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले हिमाली जिल्ला म्याग्दी पर्यटकीय हिसाबले अब्बल भएको बताउँदै पर्यटकीय क्षेत्रहरुमा भौतिक पूर्वाधार निर्माण र विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ शर्माले म्याग्दी जेसीजले राखेको पर्यटन बोर्डले जगन्नाथ क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

कार्यक्रममा जगन्नाथ मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष यामबहादुर बानियाँ र म्याग्दी जेसीजका निवर्तमान अध्यक्ष सुमन बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम म्याग्दी जेसीजका अध्यक्ष दिनेश बानियाँको अध्यक्षता, उपाध्यक्ष एवं कार्यक्रम संयोजक देवेन्द्र घिमिरेको सञ्चालन र महासचिव सज्जन श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।

उक्त पर्यटकीय बोर्ड निर्माणकार्यमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि एरियाबाट आर्थिक सहयोग भएको छ । म्याग्दी जेसीजले यसअघि पनि जिल्लाको पर्यटकीय क्षेत्रहरु लभ्लीहिल, ढोलठान दरबारलगायत क्षेत्रमा पर्यटन बोर्ड स्थापना गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार