रत्नेचौरमा निःशुल्क आँखा शिविरबाट स्थानीयवासी लाभान्वित

  म्याग्दी न्युज संवाददाता

बेनी ।म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा आज (मङ्गलवार) निःशुल्क स्वास्थ्य आँखा शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रत्नेचौर उपशाखा म्याग्दीको आयोजना र नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा कुल २ सय ८० जनाले आँखा चेकजाँच गरेको रेडक्रस रत्नेचौर उपशाखाका सचिव सुनिता बोगटी महतले जानकारी दिनुभयो । उहाँका अनुसार १ सय ४७ जनालाई चस्मा वितरण गरिएको छ भने १ सय ४२ जनालाई आँखामा हाल्ने औषधी वितरण गरिएको छ । यसैगरी शिविरमा ६ जना मोतियाविन्दु रोगका बिरामी पहिचान भएका छन्भने ६ वर्षदेखि ८७ वर्ष उमेर समूहका स्थानीयवासीले आँखाको चेकजाँच गरेका थिए ।

बिहान अर्जम र दिउँसो रत्नेचौरमा सम्पन्न निःशुल्क आँखा शिविरमा महिला १ सय ६६ र पुरुष १ सय १४ जनाले आँखाको परीक्षण गराएका थिए । आँखा शिविरमा रत्नेचौर वडा कार्यालयले आर्थिक सहयोग उपलब्ध गराइएको जनाइएको छ । सदरमुकामसम्म आएर आँखा परीक्षण गराउन नसक्ने सर्वसाधारणहरुलाई लक्षित गरेर गाउँमै सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट स्थानीयवासीहरु लाभान्वित भएका छन् । मानव शरिरको सबैभन्दा महत्वपूर्ण अङ्ग मानिने आँखाको नियमित रुपमा चेकजाँच गर्नुपर्ने सन्देश समुदायमा फैलाइएको छ ।

शिविरमा नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र म्याग्दीका प्रमुख एवं नेत्र अधिकृत दिनेश बानियाँले आँखाको परीक्षण गर्नुभएको थियो । रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर थापाको प्रमुख आतिथ्य र नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँको विशिष्ट आतिथ्य रहेको कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रत्नेचौर उपशाखाका सभापति टेकबहादुर रावलको अध्यक्षता र सचिव महतको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार