शैक्षिक सत्र शुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक (तस्बिरहरू)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी ।हिमाली जिल्ला म्याग्दीमा आगामी नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक भित्रिएको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा पहिला नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने उद्धेश्यले करिब साढे १६ हजार सेट सरकारी पाठ्यपुस्तक भित्रिएका छन् । पुस्तक व्यवसायीहरुले सामुहिक रुपमा लगानी गरेर सामुदायिक विद्यालयका कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई आवश्यक पर्ने साढे १६ हजार सेट पाठ्यपुस्तक आयात गरी शनिबारदेखि बेनीमा रहेको बिक्री डिपोमार्फत विद्यालयहरुलाई बिक्री वितरणको तयारी गरिएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष नारायण शर्माले बताउनुभयो ।

सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तकको सहज र व्यवस्थित रुपमा वितरण गर्नका लागि २८ जना व्यवसायीले सामूहिक रुपमा एक करोड रुपैयाँ लगानी गरेर जनक शिक्षा सामग्रीको क्षेत्रीय कार्यालय पोखराबाट पुस्तकहरु खरिद गरी जिल्लामा ल्याइसकिएको अध्यक्ष शर्माले बताउनुभयो । विद्यालयहरुमा नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु हुँदा विद्यार्थीको हातहातमा पुस्तक पुगोस् भन्ने उद्देश्यले बिक्री वितरणलाई सहज बनाउन एकद्वार प्रणालीमार्फत वितरण गर्न थालिएको छ । गत वर्षको विद्यार्थीको तथ्याङ्कलाई आधार मानेर पुस्तकहरु आयत गरिएको व्यवसायीले जनाएका छन् ।

पुस्तक व्यवसायीहरुले सञ्चालन गरेको बिक्री केन्द्रमार्फत पुस्तकहरु चैत १७ गतेदेखि पालिका केन्द्रसम्म पु¥याउने र विद्यालयहरुलाई बिक्री वितरण गरिने जनाइएको छ । जिल्लाको दुर्गम धौलागिरि गाउँपालिकाबाट पाठ्यपुस्तकहरु बिक्री वितरण थालिने महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष तथा बेनीका स्टेशनरी व्यवसायी ठाकुरप्रसाद शर्माले बताउनुभयो । विगतका वर्षहरुमा जस्तो पाठ्यपुस्तकको अभाव नहोस् भनेर पुस्तक व्यवसायीहरुले पहिला नै सहजीकरण गरेर जिल्लामा पाठ्यपुस्तक ल्याएको उहाँको भनाइ छ।

जिल्लामा भित्रिएका पाठ्यपुस्तकहरुलाई व्यवस्थित र सहज रुपमा वितरणको व्यवस्था मिलाउन शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापाले व्यवसायीहरुलाई अनुरोध गर्नुभएको छ । महासंघ जिल्ला शाखाले सबै सामुदायिक विद्यालयको कक्षा १–१० सम्मका पाठ्यपुस्तक विगत १० वर्षदेखि उपलब्ध गराउँदै आएको छ । पुस्तक बिक्री मार्फत करिब एककरोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने व्यवसायीले जनाएका छन् । जिल्लामा करिब दुई सय २५ सामुदायिक विद्यालयहरु सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार